OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही आश्विन २०, २०७७सिञ्जा,
६०३ पटक

असोज २० गते । कृषिहरुको गुनासो सुन्न कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा सहकारी मन्त्री बिमला केसी गाउँ गाउँमा हुनुहुन्छ ।
उहाँ कालिकोट हुदै जुम्लाका विभिन्न बस्तिहरुमा कर्णाली प्रदेश सरकारले गरेका कामहरु र कृषकका गुनासा सुन्न गाउँ गाउँ हिडिरहनु भएको छ । उहाँले सिञ्जा क्षेत्रको नराकोटमा स्थापना भएको पशु वधस्थल उद्धाटन सहित विभिन्न स्थानका प्रदेश सरकारले थालेका कामहरुको जानकारी लिनुभएको हो ।

जुम्लाको दोस्रो ठूलो बजार सिञ्जाको नराकोटमा जथाभावी खसी काटिरहेको हुदा आवश्यकताको आधारमा माग आएकाले प्रदेश सरकारले पशु वधस्थल निर्माण गरेको थियो । सिञ्जा गाउँपालिका ३ नराकोटमा स्थापना गरिएको वधस्थको उद्घाटन गर्दै मन्त्री केसीले कृषि र पशुपालन नै महत्वपूर्ण भएकाले किसानले मिहिनेत गर्न अनुरोध गर्नुभयो । उहाँले प्रदेश सरकारले किसानका लागि सफ्ट लोनको व्यवस्था समेत गरेकाले यस बिषयमा जानकारी लिन समेत अनुरोध गर्नुभयो । उहाँले जुम्ला निकै सम्भावना भएको जिल्ला भएकाले यहाँका किसानले आफुलाई के बाट सम्भावना हुन्छ सो बिषयमा योजना बनाउन सूझाव दिनुभयो । उहाँले स्याउ, सिमी, ओखर, मार्सीधान, पशुपालन सहितको उर्बर भुमि सरकारले समेत व्यवसायिक बन्ने किसानका लागि राम्रो योजना बनाउन थालेको जानकारी दिनुभयो ।
मालपोत सेवाको माग :
स्थानीयले सिञ्जामा मालपोत कार्यालय अनिवार्य आवश्यकता भएको हुदा स्थापनाका लागि पहल गर्न अनुरोध गरेका छन् । स्थानीय धर्म हमालले ईलाका प्रशासन स्थापना भएपछि नागरिकतामा सिञ्जा क्षेत्रका सािवक ११ गाविस र हालको ३ वटा पालिकालाई सजिलो भएको भन्दै अव मालपोत भएमा सिञ्जाका जनताले हजारौ खर्च गरेर सदरमुकाम जान नपर्ने भएकाले मालपोत कार्यालय स्थापना गरिदिन अनुरोध गर्नुभयो । उहाँ जस्तै धेरै जसो स्थानीयले मालपोत कार्यालय सिञ्जामा अव आवश्यकता रहेको बताएका छन् ।

मन्त्री भण्डारीले मालपोत कार्यालय सिञ्जामा आवश्यक भएकाले यसको लागि संघीय सरकार सँग पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । सिञ्जाका तीन स्थानीय तह हिमा गाउँपालिका, सिज्जा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाका नागरिकहरुलाई त्यस क्षेत्रमा मालपोत कार्यालय स्थापना भएमा सजिलो हुने देखिन्छ ।
यसैगरी जुम्लामा पशु अस्पताल तथा भेटनरी मार्फत २० वटा योजना आर्थिक बर्ष २०७६।०७७ मा प्रदेश सरकारको सहयोगमा सञ्चालन भईरहेका कार्यालय प्रमुख गोविन्द महतले जानकारी दिनुभयो । उहाँका अनुसार रु एक करोडको हिमा गाउँपालिका ३ ओदीमा भेडाबाख्रा स्रोत केन्द्र, रु २० लाखको सिञ्जाको नराकोटमा वथस्थल निर्माण भएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालाकराम देवकोटाका अनुसार आर्थिक बर्ष २०७६।०७७ मा कर्णाली प्रदेश सरकारको सहयोगमा कृषिमा २४ वटा योजना तथा कार्यक्रम संचालन भएका छन् । यसैगरी मन्त्री केसीले संचालित कार्यक्रमहरुको नमूनाको रुपमा अवस्थाको स्थलगत अनुगमन गर्नुभएको छ ।
मन्त्री केसीले गुठिचौर गाउँपालिकाको भेडा फारमको अवस्था समेत अनुगमन गर्नुभएको छ । सिञ्जामा मन्त्री केसी सहित पूर्व पशुपक्षीराज्यमन्त्री गोमा कुवँर, प्रदेश सांसद पदम रोकाया, हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकाया, तिला गाउँपालिका उपाध्यक्ष बिष्णुमाया बुढा, सिञ्जा गाउँपालिका उपाध्यक्ष जन्मकन्यखत्रीले पशुवथस्थलको अनुगमन गर्नुका साथै विभिन्न क्षेत्रका कृषकहरु सँग भेटघाट गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्