
२१ साउन २०८३, बिहीबार
सुर्खेतः स्वस्थ जीवन र मानसिक आरोग्यताका लागि योगध्यान आवश्यक भएको बताइएको छ ।
कर्णाली प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘स्वास्थ्यकर्मीहरुका लागि मानसिक स्वास्थ्यमा आयुर्वेद र योग’सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठले मानसिक आरोग्यता प्राप्तिका लागि योगध्यान अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, योगले मानिसको ध्यान, विचार र सोचलाई एकाग्रता बनाउँदा उसको मानसिक स्वास्थ्य सबल बन्दै जान्छ । वेवास्ताग्रही आहार विहार एवं खराब जीवनशैलीका कारण हामीमा देखिएका समस्या समाधानका लागि योग ध्यान आवश्यक छ । हरेक मानिसले अब प्रकृतितर्फ फर्कनै पर्छ । मानसिक आरोग्यताका लागि पर्यटनलाई पनि सँगसँगै जोडेर लैजानुपर्ने सचिव श्रेष्ठको भनाई थियो ।
चीन र भारतले आयुर्वेद क्षेत्रमा अझ धेरै काम गरेको बताउनुभएको उहाँले आधुनिक चिकित्सासँगै आयुर्वेद पद्धति मानव जीवनका लागि अपरिहार्य भइसकेको जनाउनुभयो । कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्य रणनीति निर्माण गरी कार्यान्वयनमा जोड दिएको बताउनुभयो ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतका मानसिक रोग विशेषज्ञ डा.सुशील समदर्शीले आयुर्वेदिक चिकित्साको महत्व धेरै भएको बताउनुभयो । मानिसलाई मानसिक र मनोवैज्ञानिक रुपले स्वस्थ हुन र आरोग्यता प्राप्त गर्न योग ध्यान आवश्यक रहेको बताउँदै उहाँले आधुनिक चिकित्सालाई पनि नकार्न नमिल्ने धारणा व्यक्त गर्नुभयो । मूलतः योग्य ध्यान अध्यात्मसँग सम्बन्धित रहेको उहाँको भनाई थियो ।
प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रका डा.लक्ष्मीनारायण तिवारीका अनुसार आयुर्वेदको काम रोगलाई जराबाटै उखेल्ने भएको बताउनुभयो । औषधि खाँदा पनि निको नहुने रोगीहरुले आयुर्वेदिक चिकित्साको बाटो रोजेको बताउँदै उहाँले पछिल्लो समयमा भयावह बन्दै गएको मानसिक रोगका निवारणका लागि योग ध्यान जरुरी रहेको जनाउनुभयो ।
अभिमुखीकरणमा मानसिक कन्सल्ट्यान्ट शल्य चिकित्सक डा.सरोजमणि पोखरेलले मानसिक स्वास्थ्य र यसले मानव समाजमा पारेको प्रभाव तथा कन्सल्ट्यान्ट काय चिकित्सक डा. खेमराज तिमिल्सिनाले स्वर्णविन्दु प्राशनका विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।








