OnlinePana

आज : २०८१ बैशाख ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

कोरोना महामारीले ‘देउडा पर्व’ हुन सकेन

‘देउडा कर्णालीको साँस्कृतिक प्रतिबिम्ब’

कोरपाटी संवाददातासाउन १, २०७७ सुर्खेत
११४३ पटक

१ साउन २०७७, बिहीबार

कर्णालीका लागि आज साउने (कर्कट) संक्रान्ति मात्र होइन, देउडा पर्वको विशेष दिन पनि हो । यसका लागि कर्णाली प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक विदा गरेको छ । सरकारले पहिलो पटक आधिकारिक रुपमा सार्वजनिक विदा दिएको देउडाको पर्वको आजको विशेष दिन भने सुनसान बन्यो ।

देउडा पर्व सुनसान बन्नुको प्रमुख कारण कोरोना महामारी बन्यो । यही महामारी कारण भाषा र संस्कृतिको मुख्य थलो जुम्लामा तीन दिनदेखि निषेधाज्ञा जारी छ । त्यस्तै, दैलेखमा पनि कोभिड–१९ का कारण देउडा पर्व मनाईएन । सुर्खेतमा पनि देउडाका कुनै क्रियाकलाप हुन सकेनन् । कोरोना कहरले कर्णाली र सुदूरपश्चिम दुवै प्रदेशका नागरिकहरुको यसपालि देउडा खेल्ने रहर अधुरो बन्यो ।

साउन १ गते गते यसलाई भव्य तवरले मनाईने दिनका रुपमा आधिकारिक घोषणा गरिएपनि हरेक महिनाको १ र १५ गते पछिल्लो राजधानी बीरेन्द्रनगर सुर्खेतमा स्वतः मेला लाग्ने गर्दछ । यसका लागि न विज्ञापन गर्नुपर्दछ नत कुनै आधिकारिक सूचना नै । देउडा पारखीहरु आफुखुशी आउँछन् र विभिन्न समुह बनाई गोलो लाईनमा उभिएर खेल शुरु गर्छन ।

आजको विशेष महत्वको दिनमा देउडा खेल्न र हेर्न नपाईएको यहाँका स्थानीय महिला विर्षदेवी हमालले बताउनुभयो । “देउडा हाम्रो संस्कृति मात्र होइन,” हमालले भन्नुभयो, “यो हाम्रो पहिचान र मनोरञ्जन लिने मुख्य माध्यम पनि हो ।” कोरोना भाइरसको कारण लामो समयदेखि देउडा खेलको रमाईलो लिन नपाईएको उहाँको भनाई थियो ।

साविकको कर्णालीमा मेला मालिकादेखि नयाँ घर निर्माण सम्पन्न गर्दा, वर्तबन्ध, बिबाहबारी, न्वारन, छैटी, विभिन्न स्थानीय चाडपर्वहरुको केन्द्रबिन्दुमा यो खेल हुन्छ । तरुणदेखि वृद्धहरुले उमेर, समाज र परिवेश विशेषका गीत विभिन्न शैलीमा गाउँदै उनीहरुले आफ्नो क्षमता र पहिचान दुवै देखाउने गर्दछन् ।

देउडा खेलमा लाग्न कोही कसैलाई रोकछेक हुँदैन । पुरुष÷पुरुष, महिला÷महिला वा महिला पुरुष जस्तोसुकै समुह बनाएर खेलिने देउडा दुःख, पीडा, खुशी, व्यग्य, आलोचना, तर्क, भावना व्यक्त गर्ने माध्यमयुक्त थलो हो । जसले विकास, राजनीति, अर्थ, धर्म, संस्कृति, समाजको वास्तविक चरित्र र विशेषताका बारेमा समेत स्पष्ट बयान गर्दछ ।

यद्यपि देउडामा प्रस्तुत सबैखाले क्रियाकलापले दिने मूल सन्देश भनेकै सुसंस्कृत समाज तथा नैतिकवान चरित्र निर्माण र मनोरञ्जन आदानप्रदान हो । त्यसको अलावा यसले समाजमा भएका विकृति, अनियमिता, शोषण, राजनीतिक, सामाजिक, धार्मिक तथा साँस्कृतिक अभ्यास र त्यसले पारेको प्रभावका बारेमा पनि सुसूचित गराउँदै आएको कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले जानकारी दिनुभयो ।

‘देउडा कर्णालीको साँस्कृतिक प्रतिबिम्ब’

कर्णाली देउडा समाज जुम्लाका अध्यक्ष पूर्णप्रसाद धितालले प्राचीनलदेखि चलिआएको ‘देउडा मानव जीवन व्यवहारको साँस्कृतिक प्रतिबिम्ब’ भएको बताउनुभयो ।

मानव इतिहास र देउडा संस्कृति सँगसँगै भएर आएको बताउँदै अध्यक्ष धितालले यसको विशेषता र महत्वले कर्णाली सम्पन्न भएको जनाउनुभयो । “यो खेल डेढ पाईला अघि र डेढ पाईला पछि गरेर खेलिन्छ,” उहाँले भन्नुभयो, “कस्तुरी मृगले घुमे झैं तेउडा मारेर खेलेर खेलिने भएकोले यसलाई तेउडा पनि भनिन्छ ।”

भाषाको विकास, आर्थिक व्यवहार, परम्परागत संस्कृतिको निरन्तरता, पुरानो औषधि विज्ञानको सरंक्षण गर्न देउडाको ठूलो महत्व रहेको उहाँले बताउनुभयो । त्यस्तै, प्रेम मिलन, मैत्रीपूर्ण साँस्कृतिक तथा शैक्षिक कार्यक्रम, सम्बन्ध विस्तार प्रचारप्रसा, विज्ञापन, स्थान विशेष चिनाउन र पर्यटन प्रवद्र्धनमा पनि देउडाको महत्वपूर्ण भूमिका रहेको अध्यक्ष धितालको भनाई थियो ।

कर्णालीका हजारौं नागरिकहरु सहभागी भएर मनोरञ्जन लिने देउडा पर्व यसपालि विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण प्रभावित भएकाले स्थानीय रेडियोबाट शुभकामना आदानप्रदान गरेर मनाईएको कर्णाली देउडा समाज जुम्लाले जनाएको छ । कर्णाली प्रदेश सरकारले पनि कोरोना महामारीमा सावधानी अपनाउन अपिल गर्दै देउडा पर्व तथा साउने संक्रान्ति अवसरमा सम्पूर्ण प्रदेशवासीहरुलाई शुभकामना व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस्