OnlinePana

आज : २०८३ बैशाख १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ ३१, २०७७
११६७ पटक

काठमाडौँ, जेठ ३१ गते । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ मा समाजवादी पार्टीकी सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति प्राप्त भएन ।
सभाको आजको बैठक प्रारम्भ हुनासाथ सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयकमाथि दफावार छलफलका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बोल्न समय दिँदा सांसद गिरीले उठेर बोल्न खोजेपछि सभामुखले उहाँको संशोधन अस्वीकृत भएकाले बोल्न समय दिन नसकिने जानकारी दिनुभयो ।
सभामुख सापकोटाले गिरीले पेश गरेको संशोधन प्रतिनिधिसभा नियमावली, २०७५ को दफा ११२ को (२) बमोजिम प्रक्रिया पूरा नभएकाले अस्वीकृत भएको घोषणा गरी आफ्नो स्थानमा बस्न आग्रह गर्नुभयो । सांसद् गिरीले बोल्न समय माग गर्दा अन्य सांसद्ले समय नदिन हुटिङ गरेका थिए । सो उपदफामा कुनै विधेयकमाथि सांसद्को संशोधनलाई स्वीकृत वा अस्वीकृत गर्ने अधिकार सभामुखलाई दिइएको छ । गिरीले नयाँ नक्शामा समावेश भएको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूगाग हो भन्ने प्रमाण नभएको जिकिर गरी संशोधन पेश गर्नुभएको थियो । । उक्त संशोधन पार्टीको सहमति विपरीत भएकाले फिर्ता लिन पार्टीले गिरीलाई निर्देशन दिएकामा उहाँले अटेर गर्दै आउनुभएको थियो । सो विषयमा गिरीका अभिव्यक्ति र संशोधनलाई राष्ट्रियताविरोधी भनी आलोचना भएको थियो ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले दफाबार छलफलमा गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो । विधेयकमाथि शीर्ष नेतासहितले विचार प्रस्तुत गरेपछि निर्णयार्थ प्रस्तुत गरी पारित गरिने कार्यसूची छ । रासस

प्रतिकृया दिनुहोस्