OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मनिराज पाण्डे जेठ २८, २०७७कालिकाेट
९१८ पटक

२८ जेठ २०७७, बुधबार

आज बिहान नरहरिनाथ गाउँपालिका १ कालीकोट लालीघाटस्थित ना.८.ख ५१३३ नम्बरको टिप्पर दुर्घटनामा परी गम्भीर घाईते भएका बिरामीलाई हेलिकोप्टरद्धारा उद्धार गरिएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली सेनाको हेलिकोप्टर लिएर उक्त दुर्घटनाका गम्भीर घाईतेलाई उद्धार गर्नुभएको हाे । मुख्यमन्त्री शाही आज आफै नेपाली सेनाको हेलिकोप्टर लिएर कालीकोट जानुभएको थियो । घटनामा गम्भीर घाईते भएका रासकोट नगरपालिका २ कालीकोटका २० वर्षीय निश्पता सार्की, २८ वर्षीय मिन सार्कीलाई थप उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरिएको मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिनुभयो ।

उनीहरुलाई उपचारका लागि काठमाडौं पठाईएको प्रेस सल्लाहकार बुढाथोकीले बताउनुभयो । आठ जना घाईतेमा बाँकी छ जनाको जिल्ला अस्पताल कालीकोटमा उपचार भईरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार मुख्यमन्त्री शाहीले जिल्ला अस्पताल कालीकोटमा उपचाररत घाईते सबैलाई भेटेर शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै चिकित्सक एवं स्वास्थ्यकर्मीहरुलाई उपचारका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ ।

उक्त घटनामा भने रासकोट नगरपालिका १ का २३ वर्षीय शर्मिला सार्की र २१ वर्षीय ठुम्की सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक ओलियाका अनुसार हराएका तीन जना बेपत्ता र घाईतेसहित ३४ जना सम्पर्कमा आएका छन् ।

टिप्पर चालक रंगनाथ धमलालाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । भारतबाट घर फर्केका ३९ नागरिकहरु सबै रासकोट नगरपालिकाका रहेको बताईएको छ ।

प्रतिकृया दिनुहोस्