OnlinePana

आज : २०८२ फागुन १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ ३०, २०८२
१९ पटक

२९ माघ २०८२, बिहीबार

सुर्खेतः हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेलले हुलाकको संस्थागत र प्रणालीमा पुनःसंरचना गरिने बताउनुभएको छ ।

कर्णालीका १० जिल्लाका हुलाकमा कार्यरत खरिदार तहका कर्मचारीहरुका लागि आजबाट सुरु भएको अनलाईन तालिम सञ्चालनको क्रममा निर्देशक पाण्डेले परम्परागत संरचना र प्रणाली पुनःसंरचना गरी कर्णालीाई विश्वसँग सजिलै जोड्ने कदम भइरहेको बताउनुभयो । “अब हुलाक चिठी आदानप्रदानमा मात्र सीमित हुँदैन । यो बहुआयमिक तवरबाट अगाडि बढ्छ” उहाँले भन्नुभयो, “अब हुलाकमा केही काम छैन भन्ने भाष्यबाट यसको महत्व धेरै छ भन्ने बनाउँछौं ।”

हुलाकमार्फत बैंक, बिमा, टुरिष्ट गाईड, हुलाक मार्ट, होमस्टे, प्रशिक्षण, परामर्श, वैदेसिक कारोवार, ई–कमर्श, वित्तीय सेवालगायतका काम गर्न सकिने निर्देशक पाण्डेले बताउनुभयो । आफ्नो पार्सलका लागि हिजो महिनौं दिन कुरेर बस्ने हामी आज सेकेण्ड मिनेटमा सबै कुरा यहीबाट जानकारी लिन सक्ने अवस्थामा पुगेको बताउँदै उहाँले हुलाकको महत्व र भूमिकालाई नागरिकमाझ पुर्याउने बताउनुभयो ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सचिव धोलकराज ढकालले हुलाकको महत्व धेरै भएको यद्यपि नेपालमा यसको प्रचारात्मक कार्यलाई व्यापक बनाउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जापानमा हुलाकले दिएको नागरिक सेवा निकै सह्रानीय छ । अहिले नेपालमा पनि प्रविधिमैत्री हुलाक सेवा र यसको कार्यसम्पादनमा सुधार आएको छ ।” हाम्रो दैनिकी र जीविकोपार्जनसँग जोडिएको हुलाकलाई खारेज नभई परिमार्जन गरेर अगाडि बढ्ने नीति सरकारले लिएको उहाँले बताउनुभयो ।

सचिव ढकालका अनुसार अभिलेख व्यवस्थित गर्न हुलाकको महत्व धेरै छ र यसले आफ्नो दायरालाई फराकिलो बनाउँदै लैजानुपर्दछ । हुलाकको आन्तरिक ट्रयाकिङ प्रणाली, हुलाक टिकट व्यवस्थापन प्रणाली र कर्मचारी सूचना प्रणालीसम्बन्धी दुई दिनसम्म हुने उक्त अनलाईन तालिममा कर्णाली प्रदेशका दश जिल्ला र सुर्खेतका नौ स्थानीय तहका हुलाकमा कार्यरत खरिदारसहित २२ जना कर्मचारीहरुको सहभागिता रहेको छ । उक्त तालिमको असहजीकरण हुलाक निर्देशनालय सुर्खेतका शाखा अधिकृत सुनिता खत्रीले गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्