

२७ मंसिर २०८२ शनिबार
सुर्खेतः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनयुक्त र भ्रष्टाचारमुक्त नेपाल निर्माण नेकपाबाट मात्र संभव भएको बताउनुभएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले सुशासनयुक्त र भ्रष्टाचारमुक्त नेपाल निर्माणको यात्रामा अगाडि बढेको नेकपाले सामाजिक विभेदका विरुद्ध नागरिकता, मिटर ब्याज पीडितहरुको समस्या समाधान र छिमेकीहरुसँग सन्तुलित सम्बन्ध कायमका लागि महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।
नेपालको कम्युनिष्ट आन्दोलनको एकता आवश्यक ठानेर एकता गरिएको बताउँदै संयोजक प्रचण्डले भन्नुभयो, “नेपालको इतिहासमा पहिलो पटक १६ वटा कम्युनिष्ट समाजवादी घटकहरु एकैचोटी एउटै पार्टीमा आवद्ध भएर राष्ट्र बचाउने संकल्प गरेका छन् । यो असाधारण र ऐतिहासिक काम हो । धेरै समय पहिलेदेखि हामीले गरेको प्रयासबाट नयाँ इतिहास रच्ने संकल्प पुरा भएको छ ।”
शासकको विभेदका कारण कर्णाली पछि परेको भन्दै उहाँले प्राकृतिक सुन्दरता र स्रोतका हिसाबले कर्णाली महत्व र संभावनाको क्षेत्र भएको उल्लेख गर्नुभयो । आर्थिक रुपले समृद्ध सामाजिक विभेदमुक्त सामाजिक न्यायसहितको समुन्न समाज निर्माणमा बिगतको अनुभव र शिक्षा एकतालाई बलियो बनाउँदै नेकपाले कर्णाली र सिंगो नेपालले नयाँ इतिहास रचना गर्ने र समुन्नत नेपाल बनाई छाड्ने संयोजक प्रचण्डको भनाई थियो ।
विद्यमान पार्टीहरुलाई मुलुक निर्माणका निम्ति सच्चिने कि सक्किने भन्ने सवक जेनजीहरुले दिएको उल्लेख गर्नुभएका उहाँले उनीहरुले उठान गरेका सवालमा समर्थन दिने पाटी नेकपा नै भएको दावी गर्नुभयो । प्रधानमन्त्री सुशीला कार्कीसँग जेनजी प्रतिनिधिहरुले गरेको सम्झौताका अधिकांश बुँदाहरु नेपाली कम्युनिष्ट पार्टीको नीति कार्यक्रममा धेरै मिल्दोजुल्दो भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, विचार र नेतृत्व सहि भयो भने मात्र नभएको शक्ति पनि आर्जन हुने र एकपछि अर्को विजय हाँसिल हुँदै जान्छ तर गलत हुँदा प्राप्त भएको शक्ति पनि बर्बाद हुँदो रहेछ भन्ने राम्रैसँग अवगत भएको छ । मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण करिडोर, थुप्रै विश्वविद्यालय, गरिब किसानको ऋण मिनाहादेखि लोडसेडिङमुक्त नेपाल निर्माणमा नेकपाले ऐतिहािसक कार्यभार पुरा गरेकोले जनताले यसलाई नै साथ समर्थन दिने उहाँको भनाई थियो ।
उक्त सन्देशसभामा नेकपा सहसंयोजक माधव नेपालले भ्रष्ट र स्वार्थी प्रवृति अन्त्य नगरी देशलाई समृद्ध र उन्नत अवस्थामा पुर्याउन नसकिने धारणा व्यक्त गर्नुभयो । बिगतका कमीकमजोरीलाई आत्मसमीक्षा गरेर नेकपा बनेको र यसले देशको नेतृत् वगर्ने उहाँको भनाई थियो ।
बरिष्ठ नेता झलनाथ खनालले देशलाई समाजवादतर्फ लैजान सबै कम्युनिस्ट पार्टीरु एक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले एउटै कम्युनिस्ट पार्टी निर्माण गरेर मात्र सर्वहारा श्रमिक वर्गले न्याय पाउने बताउनुभयो । नेता वामदेव गौतमले समाज निर्माण नेकपाबाट मात्र संभव हुने बताउनुभयो ।
नेता भीम रावलले जेनजीहरुले भ्रष्टाचारमुक्त र सुशासनयुक्त देश निर्माणको सवाल सम्बोधन नगरी उनीहरुमाथि दमन गर्दा मुलुकमा अशान्ति फैलिएको बताउनुभयो । सरकारको नेतृत्व गर्ने तत्कालीन प्रधानमन्त्री र गृह संयन्त्रका कारण मुलुकले आज अवस्था भोग्नु परेको उहाको भनाई थियो ।








