

२६ चैत २०८१, सोमबार
सुर्खेतः नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्रसँग पञ्चायतको तुलना गर्न नमिल्ने बताउनुभएको छ । नेकपा एमालेद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित बृहत जागरणसभालाई सम्बोधन गर्दै गणतन्त्रमा राजतन्त्रका भूतप्रेतले तर्साउन खोजिरहेको बताउनुभएको छ ।
गणतन्त्रले कर्णालीमा दिएको विकास पञ्चायत र मण्डलेले दिन नसकेको टिप्पणी गर्दै महासचिव पोखरेलले पञ्चायतको चार खर्बको अर्थतन्त्र गणतन्त्रमा ५७ अर्ब पुगेको जिकिर गर्नुभयो । लोकतान्त्रिक गणतन्त्रले आर्थिक वृद्धिमा ठूलो योगदान पुर्याएको उहाँको भनाई थियो । पञ्चायतको रु.दुई सय प्रतिव्यक्ति आय गणतन्त्रमा रु.एक हजार चार सय पुगेको उहाँले बताउनुभयो । त्यस्तै १८ घण्टा विद्युतभार कटौती हुने उतिबेला भन्दा अहिले नेपाल विद्युतभार कटौतीमुक्त भएको महासचिव पोखरेलले दावी गर्नुभयो ।
त्यस्तै, पञ्चायतमा ८ हजार किलोमिटर सडक विकास हुँदा गणतन्त्रमा एक लाख १० हजार किलोमिटर सडक निर्माण हुनुले राजतन्त्र, पञ्चायत र मण्डलेहरुको शासन व्यवस्थाले नेपाली जनताको अवस्था कस्तो रहेछ भन्ने स्पष्ट भएको महासचिव पोखरलले उल्लेख गर्नुभयो । सोही क्रममा उहाँले मुलुकमा साना दलहरुले ठूला दलमाथि शासन गर्न खोजेको र त्यसले राजनीतिक अस्थिरता बढ्दै जान थालेपछि दुई ठूला दल एक ठाउँमा आउनुपर्ने अवस्था आईलागेको उहाँले जनाउनुभयो ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतान्त्रिक गणतन्त्रमा पञ्चायत भन्दा धेरै ठूलो विकास भएको यद्यपि नागरिकका निम्ति अँझै अपेक्षाकृत हुन नसकेको प्रतिक्रिया दिनुभयो । उहाँले भएको विकासलाई तोडमोड नगरी देखाउन सक्ने र नागरिकको समग्र उन्नति तथा प्रगतितर्फ सबैको त्यत्तिकै भूमिका हुनुपर्ने धारणा राख्नुभयो ।