

२५ फागुन २०८१, आईतबार
सुर्खेत: युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अब कुनै पनि शर्तमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सार्ने छुट नभएको बताउनुभएको छ ।
नेपाल सरकार राष्ट्रिय खेलकुद परिषद् ‘दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८२’ मूल आयोजक समितिको सचिवालय कर्णाली प्रदेश रंगशाला वीरेन्द्रनगर सुर्खेतको आज यहाँ उद्घाटन गर्दै आगामी जेठ ३–१० गतेसम्म सञ्चालन हुने प्रतियोगिता तोकिएको समयमै हुने बताउनुभयो । “अब यो पुगेन, त्यो भएन, तलमाथि केही गर्न र भन्न पाइने छैन,” उहाँले भन्नुभयो, “आजकै दिनबाट सातै प्रदेशका मन्त्री तथा सदस्य सचिव र अफिसियलहरुलाई तोकिएको समयमा खेल हुने पत्र पठाइनेछ । यद्यपि कार्य सहजताका लागि कर्णाली प्रदेशको सदस्य सचिव जतिसक्दो चाँडो नियुक्त गर्न आगह गर्नुभयो ।”
प्रदेशले राष्ट्रिय गौरवको योजनाका रुपमा निर्माण गरेको कर्णाली प्रदेश रंगशालाका लागि मन्त्री चौधरीले पूर्व तथा बहालवाला मुख्यमन्त्रीलाई कृतज्ञता प्रकट गर्दै धन्यवाद दिनुभयो । पत्रकारहरुलाई अब खेल हुन्न भन्ने नलेख्न आग्रह गर्दै जेठमा गर्मीको सिजन भएकोले प्रतिकुल अवस्थामा भएपनि राष्ट्रिय रेकर्ड राख्ने गरी खेलकुद प्रतियोगिता सम्पन्न गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८२ गएको फागुनको २१ गतेको बैठक तोकिएकै समयमा हुने विश्वास बढेको बताउनुभयो । जेठमा प्रतियोगिता सञ्चालन गर्न मौसम प्रतिकुल हुने चुनौतिबारे सूचित गर्दै उहाँले आयोजकले अलमल पर्ने गरी काम नगर्न र अर्को बैठकमा फरक कुरा नआउने गरी अगाडि बढ्न अनुरोध गर्नुभयो ।
बाहिर प्रश्न चिन्ह खडा हुने काम नगर्न आयोजकलाई सुझाउँदै मुख्यमन्त्री कँडेलले आयोजकसँगको समन्वयमा व्यवस्थापनका क्षेत्रमा प्रदेश सरकार तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले राष्ट्रियस्तरको प्रतियोगिता कर्णालीवासीका लागि स्वागतयोग्य रहेको बताउनुभयो ।