
२० फागुन २०८१, मंगलबार
कर्णाली प्रदेश अस्पताल सुर्खेतले हालसम्म छ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश अस्पतालबीच विसं.२०७८ चैत २० गते सम्झौता भएयता छ जनाको प्रत्यारोपण भएको हो ।
कर्णाली प्रदेश अस्पतालका निर्देशक डा.केशर ढकालले आज यहाँ पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी विसं.२०७८ चैत २० गतेदेखि २०८१ फागुन १९ गतेसम्म छ जना बिरामीहरुको मिर्गौला प्रत्यारोपण गरिएको जानकारी दिनुभयो । अब प्रत्यारोपणको कार्य नियमित तथा अस्पताललाई आत्मनिर्भर बनाउन अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकहरुको क्षमता अभिवृद्धि गराउन थप तालिमका लागि केन्द्रमा पठाउने योजना बनाएको निर्देशक ढकालले बताउनभयो ।
“प्रत्यारोपण केन्द्रले यसको नियमित सेवा सुरु गर्न प्राविधिक सहयोग गरेको छ,” उहाँले भन्नुभयो, “मुटुरोग निदान तथा उपचारका लागि क्याथल्याब सेवाको परीक्षण सम्पन्न भइसकेको हुँदा नियमित सेवा सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कार्डियोलोजिष्ट खटाइएको छ ।”
निर्देशक ढकालका अनुसार प्रदेश अस्पतालमा क्यान्सर रोग उपचारका लागि अंकोलोजी, जलन (पोलिएको) रोग उपचार तथा शल्यक्रिया सेवा सञ्चालन हुनुका साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट न्यूरोलोजिष्ट खटाइसकेकोले उक्त सेवा पनि निकट भविश्यमै यहाँ सञ्चालन हुनेछ ।