

१४ माघ २०८१, सोमबार
कर्णाली प्रदेश मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य यामलाल कँडेलले देश बनाउने पार्टी नेपालमा नेकपा एमाले मात्र एउटा पार्टी भएको बताउनुभएको छ । आज नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै देश बनाउन सक्ने योग्यता र क्षमता नेकपा एमालेसँग भएको उहाँले दावी गर्नुभयो ।
नेकपा एमाले राज्य सञ्चालन गर्ने अवसर पाउँदा जहिले पनि राष्ट्र र जनतालाई केन्द्रमा राखेर जनपक्षीय काम गर्ने पार्टी भएकाले जनताको रोजाइको पहिलो पार्टी भएको उहाँको भनाई थियो । दक्षिण एसियाकै इतिहासमा पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीदेखि केपी शर्मा ओलीसम्मका कम्यूनिस्ट सरकारले जनपक्षीय काम गरेको कारण विपक्षीको चौतर्फी घेरा हुँदा पनि नेकपा एमालेलाई जनताले साथ दिएको उहाँले जनाउनुभयो ।
नेकपा एमालेको नीति विचार र नेतृत्व सही भएकै कारण जनताको आकर्षण बढेको जिकिर गर्दै उहाँले अवसर पाएको समयमा सरकार जनताको चाहना अनुसार काम गर्ने दिशामा लागेको हुनाले आर्थिक लगायतका क्षेत्रमा सुधारको सङ्केत देखिएको अनुभुति जनताले गरेको र जनतामा यो सरकार प्रति आशा, भरोसा र विश्वास बढेको बताउनुभयो । नेकपा एमाले सुर्खेत जिल्ला कमिटीको चौथो बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य नवराज रावत, मोहनमाया ढकाल र ठम्मर बिष्टका साथै प्रदेश कमिटी सचिव ध्रुवबहादुर शाहीलगायत जिल्ला कमिटिका नेताहरूको सहभागिता रहेको थियो ।