OnlinePana

आज : २०८१ माघ १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष १२, २०८१सुर्खेत
९३ पटक

११ पुस २०८१, मंगलबार

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीबबिक्रम शाहले राजनीति व्यापार नभई नागरिक सेवा भएको बताउनुभएको छ ।

अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र (एचआरडिसी) कर्णाली प्रदेश सुर्खेतद्वारा आज आयोजित फिजियोथेरापी सामग्री तथा उपकरण हस्तान्तरण कार्यक्रममा मन्तव्य व्यक्त गर्दै मन्त्री शाहले सेवा भावबाट राजनीति हुन नसके त्यो व्यापारमा परिणत हुने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, राजनीतिमा मानवता पनि हुनुपर्छ मानवतामा नैतिकता र सेवा भाव लुकेको हुन्छ । अहिले समाजमा मानवता ओझेल परेको छ तर हराएको छैन ।”

अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र, मानव सेवा आश्रमलगायतका समाज कल्याणका क्षेत्रमा काम गर्ने संस्थाले मानवीयतालाई उत्थान गरेको उहाँले उल्लेख गर्नुभयो । अपाङ्गतालाई ख्याल गरेर प्रथमतः हरेक सरकारी संरचना अपाङ्गतामैत्री हुनुपर्नेमा जोड दिँदै मन्त्री शाहले कर्णालीमा दीगो परियोजना लागु र कार्यान्वयन हुन सकेमात्र यहाँको समृद्धि र विकास हुने बताउनुभयो ।

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र कर्णाली प्रदेश कार्यालय स्थापनाले यहाँका १८ वर्ष मुनिका बालबालिकाहरुलाई ठूलो राहत गरेको बताउनुभयो । राज्यले गर्न नसकेका काम गर्ने सामाजिक संस्थालाई सरकारले विशेष सहयोग गर्नुपर्ने प्रमुख सुनारको भनाई थियो ।

सिबिआर संयोजक नित्रबहादुर देउजाले अपाङ्ग बाल अस्पताल कर्णाली प्रदेशमा विसं.२०७९ असोज २ गते स्थापना भएदेखि अहिलेसम्म एक हजार दुई सय ४५ जना बालबालिकालाई शल्यक्रिया गरिएको बताउनुभयो । त्यस्तै, दुई सय ७६ जनालाई सहायक सामग्री नाप्जाम तथा सामग्री वितरण गरेको उहाँले बताउनुभयो । संयोजक देउजाका अनुसार प्रदेशका विभिन्न कार्यालय, समुदाय तथा विद्यालयमा पुगेर पाँच हजार दुइृ सय जनालाई अभिमुखीकरण दिइएको छ ।

अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतका कार्यालय प्रमुख होमराज केसीले विभिन्नि जिल्लाका एक हजार आठ सय ५५ जनालाई मोबाइल क्याम्पमार्फत स्क्रिनिङ गरिएको बताउनुभयो ।

अपाङ्ग बाल अस्पताल, राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेश, सीएमसी नेपाल सिबिएम ग्लोबल नेपालको संयुक्त साझेदारीमा भूकम्पपश्चात् जाजरकोटको भेरी तथा नलगाड नगरपालिका, बारेकोट र कुसे गाउँपालिका, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका तथा आठबीसकोट नगरपालिकामा मोबाइल क्याम्प गरी पाँच हजार ६७ जनालाई उपचार सेवा र त्यसमध्ये एक सय १८ जनालाई शल्यक्रियाको लागि अपाङ्ग बाल अस्पतालमा सिफारिस गरिएको बताउनुभयो ।

उहाँका अनुसार कर्णाली प्रदेशमा उपचारात्मक अवस्थाका अँझै दश हजारभन्दा बढी बालबालिकाहरु छन् । जसमा ५५ बालबालिकाको पहिचान तथा उपचार भएको छ भने दश जना बालबालिकाको शल्यक्रियाका लागि हालै अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र काभ्रे बनेपामा भर्ना लागि सिफारिस गरिएको छ । पाँच बालबालिकालाई कर्णाली प्रदेश अस्पतालमा पठाएको जनाइएको छ ।

प्रदेश कार्यालय स्थापना भएयता पाँच सय ८७ जनालाई सहायक सामग्री नापजाप तथा वितरण गरिएको जनाउँदै उहाँले अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रले अहिलेसम्म देशैभरि एक लाख २१ हजार एक सय ९१ बालबालिकाको उपचार गरेको बताउनुभयो ।

वीरेन्द्रनगर नगरपालिका १ सुर्खेतका वडाध्यक्ष दिनेश खत्रीले विकट भूगोल, अशिक्षा, गरिबी, कुपोषित आमा र असहज वातावरणले कर्णालीमा जन्मजात अपाङ्ग भएर जन्मने बालबालिकाहरु सबै राज्यको पहुँचमा नहुँदा पुनःस्थापन केन्द्रले ठूलो राहत पुर्याएको बताउनुभयो । परियाेजना संयाेजक इराेज श्रेष्ठले परियाेजनाका बारेमा जान दिनुभयाे । अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र कर्णाली प्रदेश सुर्खेतको सेवा विस्तारका लागि सिबिएम ग्लोबल नेपालले करिब रु.१६ लाख ७७ हजार बराबरको सामग्री तथा उपकरण हस्तान्तरण गरेको छ ।

 

 

प्रतिकृया दिनुहोस्