OnlinePana

आज : २०८१ पौष १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १६, २०८१सुर्खेत
११५ पटक

१६ असोज २०८१, बुधबार

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले कृत्रिम अभ्यास समुदायका लागि विपद् प्रतिकार्यको उपयोगी सन्देश हुने भएको बताउनुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं.६ महेश्वरी बाहिनी मुख्यालय बाङ्गेसिमल सुर्खेतद्वारा आज भेरीगंगा नगरपालिका ११ रामघाटस्थित शिखर माविमा आयोजित तीन दिने ‘स्वयंसेवक उद्धारकर्ता विपद् प्रतिकार्य तालिम’को समापन कार्यक्रममा अभ्यास कृत्रिम भएपनि यसले समुदायमा आईपर्ने समस्या सुल्झाउन वास्तविक र ठूलो सिकाई हुने बताउनुभयो । नेपाल बहुप्रकोपीय जोखिमयुक्त देश भएकोले कृत्रिम अभ्यास विशेषगरी विपद् प्रतिकार्य गर्न समुदायका लागि लाभदायक हुने उहाँले जनाउनुभयो ।

“घरमा ग्यासमा आगलागी हुँदा कसरी मार्ने, फायर स्टिङ्गुइसर कसरी चलाउने, दुर्घटना हुँदा घाईतको उद्धार, प्राथमिकत उपचार गर्ने विधि र स्थानीय साधन स्रोतको उपयोगबारे विद्यार्थीहरुले यो तीनभित्र सिकेका छन्,” प्रजिअ आचार्यले भन्नुभयो, “यसलाई व्यवहारिक जीवनमा संवेदनशील रुपले कसरी प्रयोग गर्ने भन्नेबारे दिक्षित भाई बहिनीहरुले समुदायलाई सिकाउनु पर्दछ ।”

सशस्त्र प्रहरी बल नेपाल नं.६ महेश्वरी बाहिनी मुख्यालय बाङ्गेसिमल सुर्खेतका निमित्त बाहिनीपति प्रकाश थापाले विपद् पूर्व, विपद्को समय र त्यसपश्चात् गरिने क्रियाकलापहरुको योजनावद्ध खाका विपद् व्यवस्थापन योजना भएको बताउनुभयो । “उहाँले भन्नुभयो, “विपद् व्यवस्थापन प्रतिकार्य राज्यको दायित्व हो तर पनि हरेक व्यक्ति, समाज र समुदायको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।”

विपद् व्यवस्थापन प्रतिकार्यलाई प्रभाकारी तुल्याउन समुदायको संलग्नता महत्वपूर्ण हुने बताउनुभएका निमित्त बाहिनीपति थापाले भन्नुभयो, “विपदमा प्रभावित हुने भनेको समुदाय हो । समुदाय आफ्नो क्षेत्रको जोखिमबारे बढी जानकार हुनुका साथै प्रभावित व्यक्ति र समुदायमा को–को हुन्छ भन्ने उनीहरुलाई जानकारी हुन्छ ।” सुरक्षाकर्मीहरु पुग्नुभन्दा अगाडि उनीहरु नै घटनास्थलमा हुने भएकोले यो तालिम उनीहरुका लागि लाभदायी हुने उहाँको भनाई थियो ।

उक्त कार्यक्रममा शिखर माध्यमिक विद्यालय रामघाटका प्रधानाध्यापक जनक सिंहले कृत्रिम अभ्यासले मानव जीवनमा आईपर्ने विपद् प्रतिकार्यमा ठूलो सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार तालिमबाट ८० विद्यार्थी दीक्षित भएका छन् । समापनमा सशस्त्र प्रहरी बल नेपाल नं.३२ गण हेडक्वाटर रक्तकाली सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राजकुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्का र राष्ट्रिय अनुसन्धान सुर्खेतका प्रमुख प्रकाश शाहलगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्