

२४ साउन २०८१, बिहीबार
कर्णाली प्रदेश योजना आयोगको उपाध्याक्षमा कृषि विज्ञ सूर्यनाथ योगी नियुक्त हुनुभएको छ ।
मुख्यमन्त्री यामलाल कँडेलले वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेत निवासी योगीलाई उपाध्यक्ष नियुक्त गरी आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । आयोगको सदस्यमा डम्बर रावल र अशोकनाथ योगी नियुक्त हुनुभएको छ । सदस्य रावल छायाँनाथ रारा नगरपालिका ५ मुगु र योगी रास्कोट नगरपालिका ३ कालीकोट निवासी हुनुहुन्छ ।
आयोगका दुवै सदस्यहरुलाई नवनियुक्त उपाध्यक्ष योगीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । नवनियुक्त उपाध्यक्षसहित सदस्य रावल र योगीले आजै पदभार ग्रहण गर्नुभएको छ । उपाध्यक्ष योगी र रावल एमालेबाट तथा योगी नेपाली कांग्रेसको कोटाबाट नियुक्त हुनुभएको हो । चार महिनादेखि रिक्त रहेको आयोगले आजबाट पूर्णता पाएको छ ।
कृषि विज्ञ योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान सुर्खेतका क्याम्पस प्रमुख समेत हुनुहुन्छ । उहाँले भारत, थाइल्याण्डलगायतका देशमा गएर त्यहाँको कृषि विकासबारे अध्ययन तथा अनुसन्धान गर्नुभएको छ ।