OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ३, २०७७एजेन्सी
५२४ पटक

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस विरुद्धको खोप बने या नबने पनि लकडाउन हटाउने बताउनुभएको छ। यो वर्षको अन्त्यसम्ममा कोरोना भाइरसमाथि गतिलो प्रहार गर्ने भन्दै उहाँले खोप नबने पनि अर्थतन्त्र सञ्चालन गर्ने बताउनुभएको हो।

उहाँले खोप बनाउने अभियानलाई दोस्रो विश्व युद्धका बेला विश्वको पहिलो परमाणु हतियार बनाउने प्रयास जस्तै ‘अपरेशन र्‍याप स्पीड’ रहेको व्याख्या गर्नुभएको छ । तर खोप नबने पनि अमेरिकीहरु सामान्य जीवनमा फर्किन थाल्नु पर्ने भन्दै ट्रम्पले लगातार यहि वर्षभित्र कोभिड–१९ को खोप वा औषधि पत्ता लाग्ने बताए पनि विज्ञले भने खोप तयार हुन समय लाग्ने बताएका छन् ।

विश्वभर अहिले एक सय भन्दा बढी सम्भावित खोपमा काम भइरहेको छ । केही खोप तथा औषधिहरु मानवीय परीक्षणको चरणमा पुगेका छन् ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा शुक्रबार भएको पत्रकार सम्मेलनमा ट्रम्पले अपरेशन र्‍याप स्पीडबारे बताउनुभएको थियो। यो अभियानमा कोरोना भाइरसविरुद्धको १४ वटा सम्भावित खोपको अनुसन्धान तथा त्यसका लागि अनुमति दिइने उहाँको भनाई थियो ।

उहाँले अपरेशन र्‍याप स्पीडबारे भन्नुभएको छ, ‘यसको अर्थ विस्तारित र तीव्र गतिको अभियान हो । म्यानहन प्रोजेक्टपछिको यो सबैभन्दा ठूलो अभियान हो । यसमा ठूलो संख्यामा वैज्ञानिक तथा उद्योगहरु लागिपर्ने छन् ।’ सरकार तथा निजी क्षेत्रबिच खोपको खोजी तथा वितरणको व्यवस्थाका सम्बन्धमा सहकार्यको वातावरण बनाउनका लागि ट्रम्पले यो अभियानको नेतृत्व आर्मी जनलर तथा स्वास्थ्य सेवाका पूर्व कार्यकारीलाई दिनुभएको छ।

औषधि उत्पादक कम्पनी ग्लासो स्मिथ केलाइनको खोप विभागका पूर्व प्रमुख मोन्सेफ स्लाउइलाई अभियानको नेतृत्व सुम्पिएका छन् ट्रम्पले । यस्तै आर्मी जनरल गुस्तावे पेर्नालाई चिफ अपरेशन अफिसरको जिम्मा दिइएको छ । उहाँले अमेरिकी आर्मीमा वितरणको व्यवस्था मिलाउँदै आउनुभएको छ। ट्रम्पपछि बोलेका स्लाउइले यो वर्षको अन्त्यसम्ममा खोपका केही करोड डोज उत्पादन हुनेमा विश्वस्त रहेको बताउनुभयो ।

न्यूर्योक टाइम्ससँगको अन्तर्वार्तामा उहाँले खोपको समयसीमा महत्वकांक्षी रहेको बताउनुभयो। तर पनि सम्भावना भने रहेकाले आफूले जिम्मेवारी सम्हालेको उहाँको भनाई थियो । विज्ञहरुले खोप पत्ता लागेपछि मात्रै अमेरिकालाई पूर्ण रुपमा लकडाउन मुक्त बनाउन सकिने बताएका छन् । तर ट्रम्पले शुक्रबार भन्नुभयो, ‘म मानिसहरुले लकडाउन खुल्नका लागि खोप नै चाहिन्छ भन्ने सोचुन् भन्ने चाहन्नँ, खोप बने पनि वा नबने पनि हामीले लकडाउन खुलाउने प्रक्रिया थालिसकेका छौँ ।’

उहाँले भन्नुभयो, ‘धेरै अवस्थामा खोप हुँदैन, भाइरस वा फ्लू आउँछ र मानिसहरुले त्यससँग लड्छन् । केही अवस्थामा हामीले खोप कहिल्यै बनाउन सक्दैनौँ, र पनि भाइरस जान्छ ।’ ट्रम्पले विद्यालय पनि खुला गर्ने बताउनुभएको छ। यो हप्ताको सुरुमा कोरोना भाइरस टास्कफोर्सका उच्च अधिकारी डा। एन्थोनी फाउचीले खोप बिना महामारी नियन्त्रणमा आउने सम्भावना नरहेको बताउनुभएको थियो । अहिले नै लकडाउन खुलाए समस्या थप विकराल हुने र आउँदो हिउँदामा महामारीले भयावह रुप लिन सक्ने उहाँले बताउनुभएको थियो ।

पत्रकार सम्मेलनको क्रममा राष्ट्रपति कार्यालय बाहिर केही हप्तादेखि पार्क गरिएका लरीका ड्राइभरहरुले हर्न बजाएका थिए । उनीहरुले पारिश्रमिक बढाउनु पर्ने माग गरेका छन् । तर ट्रम्पले ड्राइभरहरु आफ्नो पक्षमा रहेको दावी गर्नुभयो ।

मास्क नलगाइ उपस्थित हुनुभएका ट्रम्पले मास्क लगाएकी एक पत्रकारलाई उहाँको मास्क पनि फुकाल्न सुझाउनुभएको थियो । लरीको हर्नका बीच आवाज नसुनिएको भन्दै राम्रोसँग सुनिने गरी प्रश्न गर्नका लागि ट्रम्पले मास्क फुकाल्न पत्रकारलाई सुझाउनुभयो।

कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट हालसम्म ८७ हजार ५०० भन्दा बढीको ज्यान गएको छ । यस्तै कुल संक्रमितको संख्या अमेरिकामा १४ लाख ४२ हजार भन्दा धेरै पुगेको जोन्स हप्किन्स विश्वविद्यायलको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस्