OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २७, २०८०सुर्खेत
८० पटक

२७ फागुन २०८०, आईतबार

खानी तथा भूगर्भ विभागले बराहताल गाउँपालिका ७ सुर्खेतस्थित लखरपाटामा चुनढुङ्गा उत्खनन् गर्ने अनुमति सूर्यतारा सिमेन्ट उद्योग प्रालि कमलादी काठमाडौंलाई दिएको छ ।

बाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तरगतको खानी तथा भूगर्भ विभागले सूर्यतारा प्रालिलाई सिमेन्ट उद्योग सञ्चालनका लागि आवश्यक पर्ने कच्चा पदार्थ चुनढुङ्गा उत्खनन् गर्ने अनुमति प्रदान गरेको हो । कर्णालीसहित सिंगो मुलुकको आर्थिक समृद्धिसँग जोडिएको सिमेन्ट उत्पादनका निम्ति आवश्यक पर्ने कच्चा पदार्थ उत्खनन् गर्ने प्रालिलाई बाटो खुला भएको छ ।

उक्त प्रालिले विभागमा कच्चा पदार्थ उत्खनन्का लागि रु.एक करोड ११ लाख ११ हजार एक सय ११ बराबरको प्रस्ताव पेश गरेको थियो । अन्य फर्महरुले पनि प्रस्ताव पेश गरेका थिए । ती प्रस्तावहरु मध्ये विभागले सूर्यतारालाई छनोट गरी खनिज पदार्थ नियमावली, २०५६ को नियम २६ (४) बमोजिम उत्खनन्का लागि अनुमति दिएको हो ।

अब भने सो प्रालिले बराहताल गाउँपालिकास्थित लखरपाटाको ९५ हजार हेक्टर जमिनबाट चुनढुङ्गा उत्खनन् गर्नेछ । सूर्यताराले उद्योग सञ्चालनका लागि विसं.२०७७ सालमा लगानी बोर्डबाट स्वीकृति प्राप्त गरी उद्योगस्थलमा पूर्वाधार निर्माणका प्रारम्भिक कामसमेत थालेको थियो । विद्युत र सडक अभावले भने ती काम हुन सकेका छैनन् ।

उद्योग स्थापनाका लागि पञ्चपुरी नगरपालिकामा ४२ बिघा जमिन खरिद गरी उद्योगलाई चाहिने पूर्वाधार निर्माणका काम सुरु भएको सूर्यतारा प्रालिका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सेनाले जानकारी दिनुभयो । उहाँका अनुसार रु.१४ अर्बभन्दा बढी लगानीको अनुमान गरिएको उद्योगलाई लगानी बोर्डले रु.१४ अर्ब २७ करोड ५० लाखको लगानी स्वीकृत यसअघि नै गरिसकेको छ ।

“सिमेन्ट उत्पादनका लागि संघ र प्रदेश सरकारको सहयोग आवश्यक छ,” अध्यक्ष तिमिल्सेनाले भन्नुभयो, “विद्युतको आपूर्ति र सडक निरन्तर सञ्चालन हुन सक्यो भने हामी अपेक्षित प्रतिफल राज्यलाई दिन्छौं ।” उहाँका अनुसार उद्योगले दैनिक ६० हजार बोरा सिमेन्ट र तीन हजार टन क्लिङ्कर उत्पादन गर्ने लक्ष्य राखेको छ । उद्योग स्थापनापश्चात् स्थानीयस्तरमा प्रत्यक्ष रोजगारी सिर्जना भई प्रभावित क्षेत्रका नागरिकको जीवनस्तर उकास्न मद्दत गर्नेछ ।

प्रतिकृया दिनुहोस्