OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २३, २०८०सुर्खेत
१६५ पटक

२३ फागुन २०८०, बुधबार

कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा दक्ष डकर्मी तयार गर्ने भएको छ ।

वातावरण अनुकुल भौतिक संरचना निर्माण, आवश्यक नीति एवं विधि पालना गरी विपद्बाट हुने क्षति न्यूनीकरण तथा समुदायमा ज्ञान, सीप र प्रविधिसहितको दक्ष जनशक्ति तयार गर्ने प्रदेश सरकारले भूकम्प प्रतिरोधी भवन तथा संरचना निर्माण सम्बन्धी तालिम सञ्चालन गर्ने भएको हो । त्यसका लागि त्रिपक्षीय सम्झौता भएको छ ।

कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल र स्थानीय तहबीच तालिम सञ्चालन गर्ने गरी बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले जाजरकोट भूकम्पलाई अवसरका रुपमा उपयोग गरी अगाडि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “भ्ूाकम्पले दिएको शिक्षालाई जीवन व्यवहारमा लागु गरेर जानुको विकल्प छैन । गोरखा बारपाकको भूकम्पबाट शिक्षा लिन सकेको भए जाजरकोट भूकम्पबाट हामीले यति ठूलो क्षति व्यहोर्नु पर्दैनथ्यो ।” भूकम्पपश्चात खोज उद्धार र राहतमा सरकारले लिएको पहलकदमी उल्लेख्य भएपनि पुनःनिर्माणको कार्यमा ढिलाई भएको मुख्यमन्त्री शर्माले बताउनुभयो ।

भूकम्प प्रभावित जिल्ला जाजरकोट छेडागाड नगरपालिका, बारेकोट गाउँपालिका, रुकुमपश्चिम चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र सल्यानको दार्मा गाउँपालिका गरी पाँच स्थानीय तहमा भूकम्प प्रतिरोधी भवन तथा संरचना निर्माण लागि जनप्रतिनिधि, कर्मचारी र डकर्मीको तालिम सञ्चालन गर्ने गरी सम्झौता भएको छ ।

छेडागाड र चौरजहारी नगरपालिका, बारेकोट, त्रिवेणी र दार्मा गाउँपालिका प्रत्येक स्थानीय तहबाट बाह्र जनाका दरले डकर्मीको लागि कार्यगत तालिम सञ्चालन गर्न लागिएको कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानका निर्देशक विष्णुप्रसाद कोईरालले जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्प प्रतिरोधी भवन निर्माणको डकर्मीलाई कार्यगत तालिम दिईनेछ । डकर्मीलाई दिईने तालिम २० दिनको हुनेछ ।

प्रभावित जिल्ला जाजरकोट, रुकुमपश्चिम, र सल्यानका सबै स्थानीय तहका जनप्रतिनिधिहरुलाई भवन पुनःनिर्माणको विधि, भूकम्प प्रतिरोधी डिजाईनका सिद्धान्त र प्रतिरोधी अभ्यासको क्षमता विकास सम्बन्धी सीप निर्देशक कोईरालाले बताउनुभयो । तालिम सञ्चालनको लागि रु.एक करोड ४६ लाख खर्च हुने जनाइएको छ ।

तालिमबाट ६० जना दक्ष डकर्मी तयार हुनेछन् । भूकम्प प्रतिरोधी भवन निर्माणसंहिता रहेर निर्माण कार्य गर्नेमा समेत कार्यक्रमबाट सहयोग मिल्ने भूकम्प प्रविधि र राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले जानकारी दिनुभयो । तीन तहका सरकारबीच आपसी सहकार्य र जनसमुदायको सक्रिय सहभागिताले आगामी दिनमा विपद्सँग सामना गर्न सकिने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्