OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २३, २०८०सुर्खेत
७५ पटक

२३ फागुन २०८०, बुधबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आजबाट लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन शुभारम्भ भएको छ ।

‘योग्यता, निष्पक्षता, स्वच्छताः लोक सेवा आयोगको प्रतिवद्धता’ भन्ने मूल नारासहित चौथो सम्मेलनको उद्घाटन आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले गर्नुभएको हो । सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संवैधानिक निकायहरु मध्येको लामो इतिहास बोकेको संस्था लोक सेवा आयोगले आफूबाट सम्पादन हुने कार्यमा योग्यता प्रणालीको स्थापना, प्रवद्र्धन, र सम्वद्र्धन गर्न आयोग र यस मातहतका कार्यालयहरुबाट आवश्यकता अनुसार समन्वय, सहकार्य र सहजीकरण गरी आपसी कार्यगत सम्बन्ध एवं समन्वयलाई कार्यरुप दिनका लागि राष्ट्रिय सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

आयोगले संघीय कानुन बमोजिम अपनाएको सिद्धान्त र मापदण्डलाई अवलम्बन गर्दै आएको जनाउँदै अध्यक्ष रेग्मीले भन्नुभयो, “यसले विभिन्न सेवाका लागि उपयुक्त उम्मेदवार छनोटका लागि सञ्चालन गरिने परीक्षाको किसिम, पाठ्यक्रम तर्जुमा, परीक्षण विधि निर्धारण, विज्ञहरुको छनोट, प्रश्नपत्र निर्माण तथा परिमार्जन, परीक्षा सञ्चालन, उत्तरपुस्तिकाको संकेत नम्बरको प्रयोग, परीक्षण, अन्तरवार्ता सञ्चालन, नतिजा प्रकाशन र सिफारिसलगायतका कामकारवाही तोकिएको अभ्यास, विधि र मापदण्ड अनुसार गर्दै आएको छ ।”

आयोगको मूल्य, मान्यता, सिद्धान्त, मापदण्ड, विधि र प्रविधिहरुको पूर्णतः अनुसरण र समयानुकूल परिस्कृत गर्दै लैजान तथा राजनैतिक, सामाजिक, र व्यक्तिगत सम्बन्धका आधारमा पर्न सक्ने प्रभाव, दबाब र आग्रहबाट मुक्त भई निष्पक्ष भर्ना र छनौटद्वारा राज्यको सेवामा वर्तमान र भावी चूनौतिहरुको सामना गरी राज्यलाई निकास दिन सक्ने योग्यतम जनशक्ति प्रवेश गराउने साझा उद्देश्यका साथ आयोग अगाडि बढेको उहाँको दावी थियो ।

लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगको आपसी सहकार्य र समन्वय अनुसार काम हुँदै आएको जनाउँदै अध्यक्ष रेग्मीले विसं.२०७२ सालको राज्य पुनःसंरचना पछि प्रदेश सरकारअन्तरगतका सोही कार्य क्षेत्रका कार्यसम्पादन गर्ने गरी सातै प्रदेशमा लोक सेवा आयोग गठन भई क्रियाशील भएको बताउनुभयो । उहाँका अनुसार आयोगलाई कर्मचारीहरुको भर्नाको उत्कृष्ट केन्द्र बनाउनतर्फ संघीय र प्रदेश लोक सेवा आयोगहरुबीच प्रभावकारी सहकार्य र समन्वय हुन आवश्यक छ ।

आयोगका सदस्य बीरबहादुर राईले सुदूरपश्चिम प्रदेशको कैलाली धनगढीमा विसं.२०७९ फागुन १९–२० गते सम्पन्न तेस्रो सम्मेलनबाट पाँच बुँदे घोषणापत्र र दशबुँदे निर्णय जारी गरिएको बताउनुभयो । सम्मेलनबाट भएका अधिकांश निर्णय कार्यान्वयनको चरणमा गएका छन्,” उहाँले भन्नुभयो, “आयोगको कार्यसम्पादनमा निष्पक्षता र स्वच्छता कायम गर्न तथा यसको विश्वसनीयता बढाउँदै सात दशक लामो इतिहास बोकेको आफ्नो साख बचाउन निर्वाध अगाडि बढ्नेछ ।”

सुदूरपश्चिम लोक सेवा आयोगका अध्यक्ष यज्ञराज बोहोराले गत वर्षको सम्मेलन उपलब्धिमूलक भएको जनाउँदै आयोगको स्थापना यता काम गर्न केही कठिनाई पनि भएको जनाउनुभयो । उहाँले अहिले ओएमआर मेसिन ल्याएर परीक्षा प्रणाली सुरु गरिएको समेत अवगत गराउनुभयो ।

लोक सेवा आयोग कर्णाली प्रदेशका अध्यक्ष रामप्रसाद उपाध्यायले आयोगको साखलाई आत्मसात गरेर अगाडि बढिएको बताउनुभयो । काम गर्ने सहज वातावरण हुनुपर्ने बताउनुभएका अध्यक्ष उपाध्यायले सम्मेलनबाट प्राप्त मार्गनिर्देशन र अनुभवबाट काम गर्ने उर्जासमेत मिलेको जनाउनुभयो ।

लोक सेवा आयोग लुम्बिनी प्रदेशका अध्यक्ष प्राध्यापक डिलाराम भट्टराईले आयोगबाट पूर्णरुपमा सद्भाव पाएको र यो निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो । प्रदेश लोक सेवा आयोगको आधार र मापदण्ड २०७५ अनुसार अगाडि बढेको बताउँदै उहाँले ऐन नबनिसकेकोले अपेक्षित कार्य हुन नसकेको जनाउनुभयो ।

लोक सेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्ण्ुाप्रसाद नेपालले आयोगले बोकेको इतिहासमाथि कहीकतै टिप्पणी नहुने गरी अगाडि बढेको र यसले नागरिकको विश्वास जित्न सफल भएको जिकिर गर्नुभयो । लोक सेवा आयोग बाग्मती प्रदेशका अध्यक्ष सुरेशमान श्रेष्ठले आयोगको केन्द्रीय कार्यालयबाट आवश्यक समन्वय भएको जनाउनुभयो । सामान्यत आयोगलाई शंका गरिएपनि यसको मूल्य र मान्यता अनुसार चौथो देखि ११औं तहसम्म विज्ञापन भई पदपूर्ति गरिएको उहाँको भनाई थियो ।

लोक सेवा आयोग कोशी प्रदेशका सदस्य सजना दाहालले निजामती सेवा ऐन आउन नसक्दा तल कर्मचारीहरुको व्यवस्थापनमा समस्या आएको टिप्पणी गर्नुभयो । पछिल्लो समयमा प्रतिभा पलायनको समस्या बढिरहेको जनाउँदै उहाँले उत्कृष्ट विद्यार्थी पनि निजामती सेवा आउन आकर्षण बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कर्णाली प्रदेश सरकारका कायममुकायम सचिव चुडामणि पौडेलले नेपालमा धेरै राजनीतिक परिवर्तन भएपनि लोक सेवा आयोगले सबै नेपालीको विश्वास जितेर अक्षुण्णरुपमा अगाडि बढेको जनाउनुभयो । प्रदेश लोक सेवा आयोगहरुले पनि आफ्नो विश्वसनीयता कायम गर्दै गएको जनाउँदै उहाँले आयोगका अभ्यासहरुमा एकरुपता कायम गरी पाठ्यक्रम, विषयवस्तु र परीक्षा प्रणालीलाई समयसापेक्ष परिमार्जित गर्दै लैजानुपर्ने सुझाउनुभयो ।

दुई दिनसम्म सञ्चालन हुने राष्ट्रिय सम्मेलनमा संघीय लोक सेवा आयोग सदस्यहरु माधव बेल्बासे, बीरबहादुर राई, दिनेश सिलवाल, मञ्जुकमारी, सुदूरपश्चि, कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती, मधेश तथा कोशी प्रदेश लोक सेवा आयोगका पदाधिकारी तथा सदस्य र आयोगका सहसचिव, प्रदेश लोक सेवा आयोगका सचिव तथा कर्मचारीहरुको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्