OnlinePana

आज : २०८१ कार्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २१, २०८०सुर्खेत
१७१ पटक

२१ फागुन २०८०, सोमबार

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलामा आर्थिक सशक्तिकरण र साँस्कृतिक रुपान्तरण आवश्यक भएको बताउनुभएको छ ।

११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वीरेन्द्रनगर नगरपालिकाद्वारा आज सुर्खेत वीरेन्द्रनगरस्थित सिटी हलमा आयोजित सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले सामाजिक, साँस्कृतिक र आर्थिक रुपमा अहिले पनि महिलाहरु पछािड रहेको बताउनुभयो । उहँले भन्नुभयो, “बालबिबाह, बहुबिबाह, छाउपडी, तिलकजस्ता कुप्रथा कारण अहिले पनि महिला शोषण र हिंसामा छन् । यसका लागि उनीहरुको आर्थिक सशक्तिकरण, शैक्षिक एवं सास्कृतिक रुपान्तरण आवश्यक छ ।”

महिलाका आधारभूत अधिकारलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको जनाउँदै पूर्वराष्ट्रपति भण्डारीले संविधानमै ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता हुनु नेपाली महिलाहरुको लागि सुखद् पक्ष भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार नीति निर्माणको तहमा महिला सहभागिता अर्थपूर्ण रहेको छ ।

पूर्वराष्ट्रपति भण्डारीले भननुभयो, “सम्पतिमा स्वामित्व, सहभागिता र उपयोग लगायतका सूचकहरुमा पनि सुधार आएको छ । महिला सशक्तिकरण र समानताका कुरामा विश्व आन्दोलनमा नेपाली महिलाहरु उदाहरणीय बनेका छन् । महिला सशक्तिकरणका सवालमा सरोकारवालाहरु साझा चिन्तन खाँचो रहेको छ । लैङ्गिक समानताको अभियान अन्तर्राष्ट्रियस्तरमै प्रभावी बनाउनुपर्दछ ।”

स्रोत, साधन र अवसरमा समान पहुँच हुनगरी निर्णय प्रक्रियामा सामुहिक क्रियाशिलताका लागि उहाँले महिलाहरुलाई आह्वान गर्नुभयो । पर्यटन प्रवद्र्धनबाट कर्णाली समुन्नत क्षेत्र बन्ने सक्ने बताउनुभएका उहाँले प्राकृतिक स्रोत, साँस्कृतिक एवं पुरातात्विक सम्पदाका संरक्षण तथा कर्णाली एवं भेरी करिडरको निर्माण, जलविद्युतको विकास गर्न सरकारलाई आग्रह गर्नुभयो ।

मुलुकमा स्रोत र साधनमा आधारित उद्योगमा जोड दिई स्वदेशी उत्पादनमा जोड सुझाउँदै उहाँले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुपश्चिम र सल्यानका बालबालिका, सुत्केरी महिला र ज्येष्ठ नागरिकहरुको मानवीय सुरक्षामा ध्यान पुर्याउन सरकारलाई अनुरोध गर्नुभयो ।

नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले मुलुकमा विना जात र रंगको समाज निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले कर्णालीको अवस्थालाई परिवर्तन गर्न महिलाहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । सम्मेलनमा कर्णाली प्रदेशभरका करिब एक हजार पाँच सय भन्दा बढी महिलाहरुको सहभागिता रहेको आयोजक वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्