OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १९, २०८० सुर्खेत
३१० पटक

१८ फागुन २०८०, शुक्रबार

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनमन्त्री बेदराज सिंहले कर्णाली लगानीको संभाव्य क्षेत्र भएको बताउनुभएको छ ।

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय र आईसिटी फाउण्डेसन नेपालको सयुक्त आयोजनामा शुक्रबारदेखि वीरेन्द्रनगर सुर्खेतमा सञ्चालन भएको डिजिटल कर्णाली कन्क्लेभ (प्रविधि सम्मेलन)को आज दोस्रो दिनको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले कर्णाली पानी, खानी र पर्यटनको प्रचुर संभावनाको प्रदेश भएको बताउनुभयो ।

महत्वपूर्ण कार्यक्रमको आयोजना गरेको भन्दै आन्तरिक मामिला मन्त्रालय तथा आईसिटी नेपालप्रति कृतज्ञता प्रकट गर्नुभएका उहाँले भन्नुभयो, “हामीसँग प्राकृतिक, धार्मिक र साँस्कृतिक महत्वका सम्पदाहरु छन् । रैथानेबाली, जडिबुटी र बहुमूल्य पत्थरसहित ती सबैको आवश्यक पहिचान गरी लगानीको वातावरण सृजना गर्नुपर्दछ । प्रदेश सरकार यसमा लागिरहेको छ ।”

संघीयता आउनुपूर्व कर्णालीका धेरै ठाउँमा बाटो नभएको तर अहिले यहाँका करिब धेरै स्थानीय तहमा बाटो र बैंक पुगेको बताउँदै उहाँले अब कर्णालीले प्रविधि सम्मेलनको सहयोगबाट समयको बचत गरी विकास पूर्वाधार र प्रशासन सञ्चालन गर्ने जनाउनुभयो । राज्यले कर्णाली र भेरी करिडोरको शीघ्र विकास गरेको खण्डमा कर्णाली मुलुककै आकर्षक गन्तव्य बन्ने उहाँको भनाई थियो ।

एउटै क्षेत्रबाट संसार देखाउन आईसिटीको ठूलो महत्व रहेको बताउँदै मन्त्री सिंहले भन्नुभयो, “प्रविधि सम्मेलनमा कर्णालीको तल्लो तहले पनि यसमा प्रतिनिधित्व गर्ने र सिक्ने अवसर पाएको छ । अब सम्मेलनले एउटा घोषणापत्र तयार गर्नेछ । जसलाई आधार बनाएर प्रदेश सरकारले सूचना प्रविधिसम्बन्धी नीति तथा ऐन बनाउने र दोस्रो पञ्चवर्षीय योजनामा यसलाई समावेश गर्नेछ ।”

उपलब्ध स्रोतहरुको भरपुर उपयोगले जलविद्युत, वन, कृषि, पर्यटन उद्योग निर्माण गराउन सकिए मात्र कर्णालीलाई अशिक्षा, बेरोजगार, अभाव र गरिबमुक्त प्रदेश बनाउन सकिने उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्