OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १९, २०८०सुर्खेत
८० पटक

१८ फागुन २०८०, शुक्रबार

पछिल्लो समयमा नेपाली समाजमा मानसिक रोग ओझेलमा परेको विकराल समस्याका रुपमा देखिन थालेको सरोकारवालाहरुले बताएका छन् ।

कर्णाल प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजनता तथा सिएमसी नेपालको समन्वय तथा सहकार्यमा शुक्रबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनैतिक कार्ययोजनाको निर्माण प्रक्रिया र कार्यान्वयको अवस्था विषयक सिकाई आदान–प्रदान कार्यक्रम’मा सहभागी सरोकारवालाहरुले मानिसक रोगले समाज भित्रभित्रै जेलिँदै गएको बताएका हुन् ।

उक्त कार्यक्रममा गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री सुशीला सिंखडाले मानव स्वास्थ्य सबैभन्दा ठूलो सम्पति भएको उल्लेख गर्दै समृद्ध समाज निर्माणका लागि मानसिकरुपले स्वस्थ नागरिक उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । “खानपिन, वैदेशिक रोजगार र हाम्रो जीवनशैलीका कारण अहिले मानसिक रोग बढ्दै गएको छ,” उहाँले भन्नुभयो, “यसको रोकथाम तथा नियन्त्रणमा सबै तहका सरकारले आवश्यक नीति तथा रणनैतिक कार्ययोजना बनाएर अगाडि बढ्नुपर्दछ ।”

त्यसैगरी लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री राजु खनालले पछिल्लो समय समाजमा मानसिक रोग र दुर्घटनाबाट धेरै मानिसको मृत्यु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले मानिसहरु नसर्ने रोगको खतरामा छन् । भोलिको पुस्ता कस्तो हुने भनेर राज्यले अहिले नै गाम्भीर्यताका साथ सोच्नुपर्ने बेला आएको छ ।” यस क्षेत्रको विशेषज्ञ जनशक्ति उत्पादन गर्नतर्फ जोडदिनुपर्ने उहाँको भनाई थियो ।

आयोजक कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले डिप्रेसनका कारण आत्महत्या बढ्दै गएको कुरालाई सामान्य तरिकाले नजरान्दाज गर्नु राज्यका लागि भूल हुने तर्क राख्नुभयो । संघ तथा प्रदेश तहमा बनेका नीति, रणनैतिक कार्ययोजनाहरुको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउँदै उहाँले विशेषज्ञ जनशक्ति उत्पादनमा जोड दिनुपर्ने जनाउनुभयो ।

उक्त कार्यक्रममा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सचिव डा.भोजराज शर्मा काफ्लेले एशियामै स्वास्थ्यमा सबैभन्दा बलियो सञ्जाल भएको देश नेपाल भएको दावी गर्दै व्यवस्थापनमा सवल पक्ष भनेकै संवेदनशीलता भएको जनाउनुभयो । मधेश प्रदेशका स्वास्थ्य सचिव डा.प्रमोदकुमार यादवले ६३ लाख भएको मधेशको जनसंख्याका लागि मात्र तीन जना मानसिक रोग विशेषज्ञको जनशक्ति रहेको जनाउनुभयो । कहाली लाग्दो मानव संशाधसनको अवस्थालाई व्यवस्थापन गर्न मानसिक स्वास्थ्य नीति आवश्यक भएको बताउनुभयो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा.जनार्दन पन्थीले मनोपरामर्शकताको अध्ययन अध्यापन गर्ने विषयलाई अगाडि बढाउनुुपर्नेमा जोड दिनुभयो । भुसको आगोजस्तै भित्रभित्रै सल्किरहेको मानसिक रोगको रोकथाम तथा नियन्त्रणमा नलागे यसले भावी पुस्तामा झन् ठूलो समस्या ल्याउने उहाँको भनाई थियो । सचिव पन्थीका अनुसार अहिले मानसिक रोग ओझेमा परेको विकराल समस्या बन्दैछ भन्ने कुरामा ध्यान नदिइए ठूलो क्षति व्यहोर्नुपर्ने देखिन्छ ।

स्वीस राजदूतावासका प्रतिनिधि प्रतिज्ञा सिंखडाले संघीयताको मर्म अनुसार मानसिक स्वास्थ्य सम्बन्धी बनेका रणनीतिहरुलाई नजिकबाट नियाल्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “मानसिक स्वास्थ्य अवस्थामा गिरावट आएपनि भावी दिनमा यसको समस्यमा सुधार आउनेछ । यसका लागि अन्तरसरकारहरुबीच समन्वय र सहकार्य हुनुपर्छ ।”

कर्णाली प्रदेश अस्पताल सुर्खेतका मानसिक रोग विशेषज्ञ डा.सुशील समदर्शीले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई थप सहयोग पुग्नेगरी कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति र कार्ययोजना तयार गरेको बताउनुभयो । उहाँका अनुसारमा मानसिक रोगको न्यूनीकरणका लागि समाजमा भेदभावरहित सेवा, मर्यादित जीवन र सबैप्रतिको सम्मानको वातावरण कायम हुनुपर्छ ।

कार्यक्रममा सीएमसी नेपालका प्राविधि निर्देशक डा.पशुपति महतले मानसिक स्वास्थ्यको विद्यमान अवस्था, सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले प्रदेशस्तरमा मानसिक स्वास्थ्य रणनीतिक कार्ययोजना, कार्यान्वयनका क्रममा देखिएका सवल र सुुधार गर्नुपर्ने पक्ष, डा.बासुदेव कार्कीले राष्ट्रिय मानसिक स्वास्थ्य नीति, प्रादेशिक स्वास्थ्य तथा मनोसामाजिक रणनैतिक कार्ययोजनाको मस्यौदा र यसका विशेषताहरुको बारेमा आफ्नो प्रस्तुति राख्नुभएको सिएमसी नेपालका प्रादेशिक प्रमुख हिमाल गैरेले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्