OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १५, २०८०सुर्खेत
९४ पटक

 

१५ फागुन २०८०, मंंगलबार

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले हुलाक सेवालाई प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभएको छ ।

हुलाक सेवा विभाग काठमाडौंद्वारा आज वीरेन्द्रनग सुर्खेतमा आयोजित ‘एक स्थानीय तह एक हुलाक’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री जिसीले हुलाकलाई आजको युग सुहाउँदो संरचनामा लैजानुपर्नेमा जोडदिनुभयो । उहाँले भन्नुभयो, “सूचना र प्रविधिको उच्चतम् विकास भईरहेका बेला हुलाक ग्राहक सेवा कार्यालय भन्दा माथि उठ्न सकेको छैन । खारेज गर्ने होइन, हुलाक सेवामा गुणस्तर र छरितोपन ल्याउनुपर्दछ ।”

विभागका महानिर्देशक प्रदीपराज अधिकारीले हुलाक सेवामा बिग्रेको ठाउँमा सच्याउन नसक्दा, काम र विश्वनीयताका विषयमा बाहिर नआउँदा यसको आकर्षण घटेको हो । “अन्तर्राष्ट्रिय अभ्यासलाई हेरेर हुलाकलाई उद्योग र व्यवसायका रुपमा लिनुपर्दछ,” उहाँले भन्नुभयो, “कानून तथा व्यवस्था सञ्चालनका लागि हुलाक अतिआवश्यकीय महत्वपूर्ण सेवा हो ।”

अदालत, मालपोतलगायतका आधिकारिक र महत्वपूर्ण काजगाजत बाहक निकाय हुलाक कुरियर्स जस्तो नभई नागरिकका निम्ति सस्तो र भरपर्दो सेवा भएको महानिर्देशक अधिकारीको जिकिर थियो । महत्व भएर पनि यसको इतिहास, बिरासत र आजको कामका बारेमा दर्शाउन नसक्दा हेपाहा दृष्टिले हेरिएपनि हुलाक सेवालाई सरकारी मञ्चका रुपमा ठान्न सरोकारवालाहरुलाई उहाँले आग्रह गर्नुभयो ।

कर्णाली प्रदेश सरकारका निमित्त प्रमुख सचिव आनन्द सारुले विश्वमा हुलाक सेवाको दायरा फराकिलो हुँदा पनि राज्यले यसलाई सन्तुलनमा राख्न नसक्दा नेपालमा कामयावी नभएको जस्तो देखिएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “राजश्व लिएर हुलाकले गुणस्तर सेवा दिनुपर्दछ ।” हुलाक पालिकास्तरमा पुग्दा तीनै तहका सरकारहरुबीचको अन्तरसम्बन्ध बढ्ने उहाँको भनाई थियो ।

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले हुलाकले आफूलाई प्रविधिमैत्री बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेश समिति अध्यक्ष निमबहादुर केसीले सूचना र प्रविधिको युग भनिएपनि नेपालीहरुका लागि घोप्टे युग आएको व्यंग्य गर्नुभयो । प्रविधियुक्त सामग्रीमै घोप्टो परेर समय बर्बाद गर्नेहरुको संख्या वृद्धि भएको जनाउँदै उहाँले पालिकास्तरमा हुलाक कार्यालय स्थापनाका लागि आवश्यक सहयोग दिने बताउनुभयो ।

हुलाक विभागका पूर्वसहसचिव बालाराम शर्मा देवकोटाले आजको प्रविधिसँगै हुलाक सेवालाई जोडिएर लिनु अपरिहार्य भइसकेको बताउनुभयो । विभागका निर्देशक ध्रुवराज आचार्यले हुलाकको इतिहास, वर्तमान अभ्यास, भइरहेका गतिविधि, यसले सामना गर्नुपरेका चुनौति र भावी रणनीतिसहित संगठन संरचनाबारे आफ्नो प्रस्तुति राख्नुभयो । उक्त अन्तरक्रिया कार्यक्रममा स्थानीय तहका प्रमुख÷प्रतिनिधि, नीजि व्यवसायीलगायत पत्रकारसहित अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्