OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १५, २०८०सुर्खेत
७८ पटक

 

 १५ फागुन २०८०, मंंगलबार      

नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय कानून बेलैमा नबनेका कारण संघीयता कार्यान्वयनमा समस्या भएको बताउनुभएको छ ।

उद्योग बाणिज्य संघ सुर्खेतद्वारा वीरेन्द्रनगरमा आज आयोजित ‘कर्णाली एक्स्पो–२०८०’ को समुद्घाटन गर्दै उहाँले बेलैमा आवश्यक कानून निर्माण नहुँदा संघीय गणतान्त्रिक व्यवस्थामाथि केहीले प्रश्न गर्ने मौका पाएको जनाउनुभयो । उहाँले भन्नुभयो, “आठ वर्ष अघि नेपालको संविधान बन्यो तर त्यसअन्तरगत आवश्यक कानून बन्न सकेनन् । यसमा केन्द्रीकृत मानसिकता पनि प्रदेशलाई अधिकार दिन संकुचित देखियो ।”

संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसक्नुमा सबै दलको कमजोरी रहेको उहाँले स्वीकार्नुभयो । “दुई तिहाईको बहुमत भएको सरकार, काँग्रेसलगायत सबै दलहरुको कमजोरी रह्यो,” उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “अब सच्चिएर सबै दलहरुले मुलुक र जनताको विकासमा एक सोच र साझा चिन्तनका साथ अगाडि बढ्नुपर्छ र आफूलाई जनतामा पूर्णरुपले समर्पित गर्नुपर्दछ ।”

साधन स्रोतका हिसाबले कर्णालीको क्षमता र सामथ्र्य हुँदापनि यसको अपेक्षित विकास हुन नसकेको उहाँको टिप्पणी थियो । कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेत विमानस्थल विस्तारका लागि रु.एक अर्ब बजेट छुट्याएर काम गर्न खोज्दा कसले, के कति कारणले अगाडि बढ्न दिइएन भन्दै उहाँले प्रश्न पनि गर्नुभयो ।

भेरी बबई डाईभर्सन निर्माण क्षेत्रका प्रभावित जनताको पुनःस्थापनका लागि रु.चार अर्ब बजेट छुट्याउनदेखि मध्यपश्चिम विश्वविद्यालय, पुनरावेदन अदालतको स्थापना, क्षेत्रीय कार्यालयहरुको व्यवस्थापन, कर्णाली तथा भेरी करिडरको विकासमा बिगतदेखि लागि परेको उपप्रधानमन्त्री खड्काले बताउनुभयो ।

उहाँका अनुसार भेरीगंगा नगरपालिकामा तत्कालीन् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गबहादुर विश्वकर्माले अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने योजना अगाडि बढाउने वा रोक्ने भन्ने निर्णय गर्ने अधिकारी प्रदेश सरकारलाई छ । सोही अनुसार संघीय सरकारले प्रक्रिया अगाडि बढाउँछ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको विकास र समृद्धिका लागि प्रदेश सरकार निर्वाध लागिरहेको जनाउँदै यहाँको आर्थिक विकासमा लगानी गर्ने वातावरण तयारीका लागि सबैको आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रै साँघुरो मानसिकताले कर्णाली पछाडि परेको हो भन्ने कुरा पनि बुझ्नुपर्दछ । तसर्थ कर्णाली विकासका लागि एकले अर्काको खुट्टा ताने र कुरा काट्ने प्रवृति त्यागौं ।”

एक्स्पोमा प्रतिनिधिसभा सदस्य हृदयराम थानी, नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेल, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीलगायतले आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । एक्स्पो यही फागुन २२ गतेसम्म सञ्चालन हुने उद्योग बाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिनुभयो ।

 

 

प्रतिकृया दिनुहोस्