OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ११, २०८०सुर्खेत
१०४ पटक

११ फागुन २०८०, शुक्रबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कोपिला भ्याली विद्यालयले श्रम, सीप, प्रविधि र संस्कारयुक्त शिक्षाको विकासमा जोड दिएको बताउनुभएको छ । गरिखाने शिक्षा आजको मूल आवश्यकता हो भन्ने अवधारणालाई यसले अंगीकार गरेको उहाँले जनाउनुभयो ।

कोपिला भ्याली स्कुल वीरेन्द्रनगरको १३औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले सूचना र प्रविधिको विकाससँगै शिक्षा मानव जीवनको प्रत्यक्ष कर्मसँग जोडिनुपर्ने बतउनुभएको हो । “हाम्रा शैक्षिक संरचनाहरु योग्य नागरिक उत्पादन गर्ने कारखानाका रुपमा विकास हुनुपर्छ,” उहाँले भन्नुभयो, “टाउकोले टेक्ने खालको हाम्रो शिक्षा नीति खुट्टाले टेक्ने बनाउनुपर्दछ ।”

सरकारले गर्नुपर्ने काम कोपिला भ्याली स्कुलले गरेको बताउनुभएका मुख्यमन्त्री शर्माले श्रम, सीप, प्रविधि र संस्कारसँग जोडिएको शिक्षा पनि यो स्कुलले दिएको उल्लेख गर्नुभयो । उहाँले शैक्षिक क्षेत्रको उन्नयन र सुदृढीकरणका लागि सबै सरोकारावालाहरुको साझा भूमिका अपरिहार्य रहेको बताउनुभयो । उहाँका अनुसार नागरिक खुशी र सुखी बन्ने अवस्था सिर्जना नहुञ्जेलसम्म समृद्धि कोरा भाषणमा मात्र सीमित हुन्छ ।

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले कर्णालीको शैक्षिक विकास र यहाँका पहुँचविहीन् तथा विपन्न समुदाय बालबालिकाका लागि कोपिला भ्याली वरदान सावित भएको बताउनुभयो । उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर मल्लले विसं.२०६७ सालमा बाँसको टहराबाट सुरु गरेकोको १३ वर्षपछि हरित विद्यालयसम्म निर्माण गर्न सकिएको बताउनुभयो ।

विद्यालयका सहसंस्थापक म्याग्गी डोयनले लामो संघर्षपछि विद्यालय कोपिलाहरुको आश्रय उपत्यका बन्न पुगेको बताउनुभएको थियो । उहाँले भन्नुभयो, “म आफै कर्णाली भएर काम गर्न पाएकोमा गर्व गरेकी छु । हामी सबैलाई कर्णाली हुनुमा गर्व छ । यहाँको शैक्षिक उन्नति र विकास तथा गरिब तथा बेसाहारा बालबालिकाको जीवन निर्माणको संघर्षमा निर्वाध अगाडि बढिरहेका छौं ।”

सो वार्षिकोत्सवमा नर्सरीदेखि कक्षा १२ मा अध्ययनरत बालबालिका तथा शिक्षिकहरुले आफ्ना कलात्मक साँस्कृतिक तथा साहित्यिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनाल, शिक्षाप्रमी, समाजसेवी, अभिभावक, सहयोगी, शुभेच्छुकलगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्