OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ७, २०८० सुर्खेत
१४८ पटक

 ७ फागुन २०८०, सोमबार

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा जोड दिनुपर्ने बताउनुभएको छ ।

कर्णाली प्रदेश अस्पतालको १८औं स्थापना दिवसको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले यहाँका नागरिकहरुको स्वास्थ्य अवस्थालाई सुरक्षित बनाउन अस्पताल प्रशासनको विशेष हात रहेको बताउनुभयो । “धेरै अस्पतालहरुले बिरामी बढ्दा सेवामा प्रभाव बढेको ठान्छन्,” उहाँले भन्नुभयो, “बिरामी होइन, हामीले रोग बढ्न नदिने गरी गुणस्तरीय सेवाको विकास र विस्तार गर्नुपर्दछ ।”

प्रदेश सरकारले दशवटै जिल्लामा स्वास्थ्य सेवाको विकासमा विशेष जोड दिएको बताउँदै संघीय सरकारको केन्द्रीकृत मानसिकताले केही अप्ठ्यारो परेको टिप्पणी गर्नुभयो । उहाँका अनुसार स्वस्थ र शान्त नागरिक मात्र समाजमा खुशी र सुखी हुन सक्छ । नेतृत्वले त्यो वातावरण निर्माणतर्फ सोच राख्नुपर्दछ । अस्पतालको सेवा वृद्धि र जनशक्ति व्यवस्थापनमा सरकार प्रतिवद्ध रहेको उहाँको भनाई थियो ।

नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले प्रदेश अस्पताल प्रदेश सरकारको बजेटमा उच्च प्राथमिकतामा परेको जनाउनुभयो । उहाँले भन्नुभयो, “नागरिक सेवा सर्वसुलभ बनाउन गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरौं । जनसरोकारका सवालहरुलाई बृहतरुपमा छलफलको विषय बनाऔं ।”

आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले कर्णाली प्रदेश अस्पताल प्रदेश सरकारको गर्व गर्न लायक स्वास्थ्य संस्था बन्दै गएकोले यसलाई विशिष्ट स्वास्थ्य संस्थाकारुपमा विकास गर्नुपर्ने सुझाउनुभयो । कर्णाली सरकारका प्रमुख सचिव चुडामणि पौडेलले अस्पतालको सेवालाई आधुनिकीकरण गरी विशेषज्ञ सेवालाई गाउँमा पुर्याउनुपर्ने सुझाव दिनुभयो ।

प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्काले आठ वर्षको कार्यकालमा आठ उपलब्धि हाँसिल गरेको बताउनुभयो । भौतिक पूर्वाधारमा भएको विकास, जनशक्तिको पर्याप्तता, आधुनिक स्वास्थ्य उपकरण जडान, अस्पतालको सेवामा सुधार तथा विस्तार, जटिल खालका रोगको निदान तथा उपचारमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान र कोरोना महामारीसँगको साहसिक लडाई, अस्पतालको सर्वाङ्गीण विकासका लागि सरोकारवालाहरुसँगको प्रगाढ सम्बन्ध र सहकार्य तथा यी सबै प्रयासबाट आर्जित जनविश्वास प्रमुख उपलब्धि भएको उहाँले बताउनुभयो ।

आधा शताब्दी लामो आरोह–अवरोध पारगर्दै हालको अवस्थामा पुगेको अस्पताल निकट भविश्यमै पाँच सय शैया सञ्चालन गर्ने महत्वाकाँंक्षी योजना रहेको बताउनुभयो । उहाँले विशेषज्ञ तहको प्रदेश अस्पताल निर्माणमा जोड दिने योजना रहेको समेत जानकारी दिनुभयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपकुलपति डा.मंगल रावलले पश्चिम नेपालको हिमाली क्षेत्र अवस्थित प्रतिष्ठान र प्रदेश अस्पतालबीचको सहकार्यले कर्णालीका नागरिकहरुको स्वास्थ्य अवस्था जुरुक्कै माथि उठ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बिरामी चाप बढ्नुले कतै हामीले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउन सकेनौ कि भन्नेबारे गम्भीररुपले सोच्नै पर्दछ ।”

प्रतिष्ठानमा ९० भन्दा बढी विशेषज्ञसहित तीन सय ५० जनशक्ति रहेको जनाउँदै उपकुलपति रावलले ग्रामीण स्वास्थ्यको अध्ययन केन्द्र जुम्ला बन्ने जिकिर गर्नुभयो । प्राज्ञिक संस्था र अस्पताल दुवै एक अर्काका परिपुरक भएकाले प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतको सहकार्य अपरिहार्य रहेको उहाँको भनाई थियो ।

काठमाडौं विश्वविद्यालयका पूर्व डिन राजेन्द्र कोजुले प्रदेश अस्पतालको प्रगतिले कर्णालीवासीको स्वास्थ्यस्तर माथि उठेको बताउनुभयो । उहाँका अनुसार तीनै तहका सरकारहरुको जोड बलमा यसको स्तरोन्नति हुनु अपरिहार्य छ । उक्त कार्यक्रममा प्रदेश अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी र पत्रकारहरु पनि पुरस्कृत भएका थिए ।

प्रतिकृया दिनुहोस्