OnlinePana

आज : २०८१ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २१, २०८०सुर्खेत
७१ पटक

२१ माघ २०८०, आइतबार

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले कर्णालीलाई गरिबी र बेरोजगारबाट मुक्त गर्नुपर्ने बताउनुभएको छ ।

कर्णाली प्रदेशसभा सचिवालयद्वारा प्रदेशसभाको छैटौं स्थापना दिवसको अवसरमा आज आयोजित ‘मूल समारोह’को उद्घाटन गर्दै प्रदेश प्रमुख परियारले गरिबी र बेरोजगारबाट कर्णालीलाई मुक्त गरी सामािजक न्यायमा आधारित समतामूलक समाजको जग बसाल्दै समाजवादोन्मुख अर्थतन्त्र निर्माणमा लाग्न सरकार प्रमुखलाई अनुरोध गर्नुभयो । यसका लागि तीनै तहका सरकारहरुको आपसी समन्वय र सहकार्यबाट जनताको भवना, चाहाना र आवश्यकता परपूर्ति हुने उहाँको भनाई थियो ।

प्रदेश प्रमुख परियारले भन्नुभयो, “सशस्त्र विद्रोह, १९ दिने जनआन्दोलनबाट प्राप्त संविधान, संघीयता, धर्मनिरपेक्षता समानुपातिक, समावेशिताको ऐतिहाँसिक जगमा उभिएर सरकारहरु अगाडि बढ्नुपर्दछ । कर्णालीलाई विकास, सुशासन र सामाजिक न्यायसहितको समृद्धिको उचाईमा पुर्याउन आवश्यक छ ।”

कर्णाली प्रदेशसभा जनताको सार्वभौमसत्ता सम्पन्न जनप्रतिनिधिहरुको उच्चतम थलो भएकोले यसको महत्व र उपदेयतालाई आत्मसातीकरण गरी कर्णालीको विकास, सुशसान र सामाजिक न्यायसहितको समृद्धिका लागि प्रदेशसभा सदस्यहरुलाई राजनीति आग्रह पूर्वाग्रह भन्दा माथि उठेर जनताको सेवा गर्ने प्रेरणा मिल्ने अपेक्षा रहेको उहाँको भनाई थियो ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सरकार क्रमागत र बहुर्षीय योजनाको भारी बोकेर अगाडि बढिरहेको बताउनुभयो । सृजनशीलता प्रयोग गर्न नपाईएको गुनासो उहाँले भन्नुभयो, “केही पनि नभएको भन्ने होइन तर आवश्यकता अनुसारको गति पैदा हुन सकेको छैन यद्यपि कर्णालीको आवश्यकता अनुसार आफूलाई बदल्ने कुरामा हामीले ध्यान दिनुपर्दछ । एकल अधिकार किन कुण्ठित बनाई राखिएको छ भन्नेमा हामी बहस गर्दै आएका छौं ।”

पछिल्लो समयमा परिवर्तनप्रति अफवाह फैलाउने काम भईरहेको प्रतिक्रिया दिँदै मुख्यमन्त्री शर्माले प्रतिगामी सोच, चिन्तन र चासो भएकाहरुले प्रदेश आवश्यक छैन भन्न थालेको टिप्पणी गर्नुभयो । सामान्ती मानसिकताको उपजले घर जमाई राखेको बताउनुभएको उहाँले हात खुट्टा बाँधेर पौडी खेल्न लगाइएको अवस्थामा गर्न नसकिने र यसमा बोल्न मिले वा नमिलेपनि यथार्थता यही भएको उहाँले जिकिर गर्नुभयो ।

उहाँका अनुसार संसदीय सर्वोच्चतालाई अगाडि बढ्ने कुरामा कानून मिचेर सरकार अगाडि बढ्ने काम भएको छैन । सरकारले आवश्यक समन्वय, सहकार्य गरेर अगाडि बढेको भन्दै मुख्यमन्त्री शर्माले भए गरेका गतिविधिहरुलाई पनि भएन भन्ने दृष्टिकोण बदल्न सबैमा अनुरोध गर्नुभयो ।

कर्णाली प्रदेशसभा विपक्षी दलका नेता यामलाल कँडेलले प्रदेश सरकारको विकास निर्माणको गति हेर्दा कहाली लाग्दो अवस्थामा पुगेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “दूरदराजमा जाँदा सरकारले काम गरे नगरेको प्रमाण आफैले बोल्छ । जनसरोकारका विषयहरु पनि एकपछि अर्को बढ्दै गएको छन् । अनुभूति हुनेगरी काम भएको पाईदैन । फोटो टाँसिएपनि विवरण आएपनि जनताका अगाडि त्यसले सबै पुग्दैन ।”
दिन बिताउने गरी सरकारले काम गरिरहेको कटाक्ष गर्दै नेता कँडेलले प्रतिपक्षीका हिसाबले नभई सहयोगी बनेर सरकारलाई सहयोग गरेको दावी गर्नुभयो । उहाँले सरकारलाई प्रदेशसभाको बैठक बोलाई दिनुपर्यो भन्ने परिस्थिति बदल्नु पर्नेमा जोड दिनुभयो । सरकारको छ वर्षे कार्यकाल र आगामी बाटोका विषयमा समीक्षा गर्दै जानुपर्ने उहाँको भनाई थियो ।

समारोहमा सभामुख नन्दा गुरुङले जनप्रतिनिधिहरुको साझा थलोले जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने बताउनुभयो । उक्त समारोहामा विभिन्न साँस्कृतिक प्रस्तुतिहरु पनि राखिएको थियो । समारोहमा कर्णाली प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, आयोगका उपाध्यक्ष तथा सदस्यहरु, प्रदेश सरकारका प्रमुख सचिव, न्यायधीश, जिल्ला तथा नगर प्रमुखहरु, प्रदेश सरकारका सचिवहरुसहित पत्रकारहरुको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्