OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ५, २०८०सुर्खेत
१९१ पटक

५ पुस २०८०, बिहीबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाबाट मुलुकमा धार्मिक स्वतन्त्रता प्राप्त भएको बताउनुभएको छ ।

इसाई समाज सुर्खेतद्वारा ‘ख्रीष्टमस बडादिन तथा नव वर्ष २०२४’को पूर्वसन्ध्यामा आज वीरेन्द्रनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले जनयुद्धको जगमा भएको जनआन्दोलन र नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट मुलुकले संविधान, संघीयता, धर्मनिरपेक्षता, समावेशिता प्राप्त गरेको जनाउनुभयो । ख्रीष्टमसलगायतका पर्व एवं स्वतन्त्रताका साथ आफ्नो संवैधानिक अधिकार उपभोग गर्ने हक गणतान्त्रिक व्यवस्थाको उपलब्धि भएको उहाँले बताउनुभयो ।

“शासकले गलत गर्दा नि उत्तिबेला हामीले बोल्न पाउदैनथ्यौं,” उहाँले भन्नुभयो, “आजको व्यवस्थाले हाम्रो स्वतन्त्रताको अधिकारलाई सुनिश्चित गरेको छ । जुन स्वतन्त्राले हाम्रो मौलिकता, धर्म, संस्कृति, संस्कारको प्रवद्र्धन र संरक्षण गरेको छ । खास धर्म मर्म भनेकै कसैलाई दुःख नदिने हुनुपर्दछ । यसका नाममा हुने सबैखाले विभेदहरु अन्त्य गर्नुपर्दछ ।” नेपाली जनताले लडेर ल्याएको संविधान संघीयता, धर्मनिरपेक्षता, समावेशिताको संस्थागत गर्न हामी सबै एकतावद्ध हुनुपर्ने उहाँको भनाई थियो ।

इसाई धर्मको मूल्य, मान्यता र आस्थाले विभेद अन्त्य गर्न सघाउ पुर्याएको बताउनुभएका मुख्यमन्त्री शर्माले खुशीसँग जोडिएको समृद्धि र सुखसँग जोडिएको आर्थिक सम्पन्नता अनि ‘समृद्ध कर्णाली, सुखारी कर्णाली’को लक्ष्य पुरा गर्ने अभियानमा सबै धर्मावलम्बीहरुको सहयोग आवश्यक रहेको जनाउनुभयो ।

इसाई धर्मगुरु रेभरेन्ट पास्टर लील श्रीसले पुनरुत्थान र जीवन प्रभुमा रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “पृथ्वीको अध्यात्मिक क्रान्तिकारी यशु हुन् । मानिसको पाप क्षमाका लागि उहाँले जीवन दिनुभयो । शत्रुलाई पनि प्रेम गर्न सिकाउने यशुको अर्तीले मानिस जातिको जीवनमा सत्कर्म गर्न सिकाएको छ । जसबाट आशा र उत्साह दुवै मिलेको अनुभूति हुन्छ ।” प्रमेश्वरको वचन पुगेको ठाउँमा सम्पन्नता प्राप्ति हुने पास्टर श्रीसको भनाई थियो ।

आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले इसाई धर्मले मानव जातिलाई उच्च र बरिष्ठ दर्जामा राख्न तथा सहि मार्ग देखाउन मद्दत गरेको बताउनुभयो । “विश्वासमा सबैभन्दा ठूलो तागत हुन्छ, जुन तागत क्रिश्चियनहरुमा पाईन्छ,” उहाँले भन्नुभयो, “मुलुकलाई पवित्रताको मार्गमा डोर्याउन क्रिश्चियन अगुवाहरुले अँझै अगुवाईको भूमिका खेल्नुपर्दछ । राज्यले धर्म, संस्कृति, भाषालाई सुरक्षित गर्दै जाँदा मुलुक समृद्ध हुने उहाँको जिकिर थियो ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसी, सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेल, जलस्रोत तथा उर्जा विकासमन्त्री उर्मिला विक र प्रदेशसभा सदस्य बलिमाया बुढाले ख्रीष्टमसले जीवन र जगतमा रहेर काम गर्नेहरुलाई सत्कर्ममा जिउनुपर्दछ भन्ने सन्देश प्रवाह गरेको जनाउँदै सबैखाले धर्म, संस्कृति र संस्कार राज्यका सम्पति भएको बताउनुभयो ।

समाजका अध्यक्ष पदम गैरेले बाईबल र ज्ञानले भरिएको मान्छे प्रशस्तामा जिउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मानव अधिकारको सम्मान जहाँ हुन्छ, त्यहाँ हरेकले आफ्नो जीवन देख्दछ । अनि त्यसैलाई बाँच्ने आधार बनाउछ । त्यसले गर्दा नि हरेकले ज्योतिका प्रभु यशुख्रीष्टमा विश्वास र शक्ति प्राप्त गरेको छ ।” प्रभुमा विश्वास गरेका विश्वका धेरे देश विकासमा अगाडि बढेको समेत उहाँले उल्लेख गर्नुभयो ।

उक्त शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न मण्डलीहरुले नृत्य प्रस्तुत गरेको थिए । त्यसको साथै इसाई समाज सुर्खेतले वीरेन्द्रनगर बजारमा बृहत शान्ति र्याली कार्यक्रमसमेत प्रदर्शन गरेको थियो ।

प्रतिकृया दिनुहोस्