OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ९, २०८०सुर्खेत
२२८ पटक

९ मंसिर २०८०, शनिबार

कर्णाली प्रदेश सरकारले लुम्बिनी प्रदेशसँग जोडिएका यहाँका दुई मूल नाका बबई र कपुरकोटमा तथ्याङ्क संकलक खटाएको छ ।

प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यही मंसिर ७ गतेबाट कर्णालीमा आयात र निर्यात हुने कृषि उपजको तथ्याङ्क अभिलेखीकरण गर्न तथ्याङ्क संकलक खटाएको हो । मन्त्रालयका सचिव डा.नरहरिप्रसाद घिमिरेले प्रदेश भित्रका कृषि र पशुपंक्षीजन्य वस्तुको उत्पादन र बजारीकरण प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस प्रदेशमा आयात निर्यात हुने कृषि उपजको तथ्याङ्क संकलन गर्ने कार्य सुरु गरिएको बताउनुभयो ।

“हामीले जिल्लाका सुरक्षा निकाय र सरोकारवालाहरुसँगको समन्वय र सहकार्यमा तथ्याङ्क संकलनको काम थालेका छौं,” सचिव घिमिरेले भन्नुभयो, “यसका लागि यही मंसिर ७ गते नै दुवै नाकामा दुई÷दुई जना तथ्याङ्क संकलक खटाईसकेका छौं ।” यसबाट कर्णाली प्रदेशमा उत्पादित भएर जाने र बाह्य क्षेत्रबाट आउने कृषि उपजको यथार्थ तथ्याङ्क प्राप्त हुने आशा गरिएको उहाँले बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले यथार्थ तथ्याङ्क उपलब्ध नहुँदा बजार व्यवस्थापन र गुणस्तर नियन्त्रणमा परेको कठिनाई अब हुने तथ्याङ्क संकलनबाट सकिएर जाने बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त नाकाबाट दैनिक उपलब्ध हुने कृषि उपजका आयात तथा निर्यातको तथ्याङ्कलाई मन्त्रालय र मातहतका निकायले विश्लेषण गर्नेछन् । यसले बजार व्यवस्थापन र गुणस्तर प्रवद्र्धन गर्नेछ ।”

उपलब्ध तथ्याङ्कमार्फत यस मन्त्रालयलाई भावी नीति, कार्यक्रम तथा योजना बनाउन महत्वपूर्ण सहयोग पुग्ने आशा गरिएको प्रवक्ता कठायतले बताउनुभयो । उहाँका अनुसार मन्त्रालयबाट खटाइएका तथ्याङ्क संकलकहरुले पालो मिलाई चौबिसै घण्टा दुवै नाकाबाट प्रदेशभित्र आवातजावत गर्ने सवारी साधनहरुलाई सुरक्षा निकायसँगको समन्वयमा कृषि उपजहरुको विवरणको सोधखोज गरी लिनेछन् ।

प्रतिकृया दिनुहोस्