OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ६, २०८०सुर्खेत
५५९ पटक

६ मंसिर २०८०, मंगलबार

जुम्ला गुठिचौर गाउँपालिका ३ निवासी ३४ वर्षीय बालकुमारी घर्ती मगर (गिरी) ब्रेन स्ट्राेक रोगका कारण दुई महिनादेखि अचेत अवस्थामा छन् ।

दिमागको एउटा रक्तनलीमा रगत जमेपछि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उहाँको उपचार भईरहेको छ । कर्णाली प्रदेश अस्पतालका बरिष्ठ कन्सल्टेन्ट न्यूरो सर्जन डा.निलम खड्काले गिरीको ब्रेन स्टोक अर्थात दिमागको मिडिल स्रेरेब्रेल आर्टरीमा रगत जमेर काम गर्न नसक्ने समस्या भएको बताउनुभयो । डा.खड्काका अनुसार स्वास्थ्य अवस्था पहिले भन्दा थोरै सुध्रिएपनि कहिलेसम्म उपचार हुने हो भन्न सकिने अवस्था छैन ।

उहाँले गिरीको प्रदेश अस्पताल सुर्खेतको न्यूरो सर्जिकल वार्डमा उपचार भइरहेको बताउनुभयो । यता बालकुमारीका श्रीमान् प्रेमराज गिरीले उपचारको क्रममा करिब १० लाख खर्च भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “गत असोज ५ गते एक्कासी बेहोस भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एक दिन भर्ना गरी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याई पुर्याएँ तर अहिलेसम्म चेतमा छैनन् । आर्थिक अभावले उपचार गर्न कठिन भईरहेको छ । यसका लागि सहयोगको याचना पनि गरिरहेका छौं ।”

जुम्लाका सांसद छिरिङ् ल्यामु लामा तामाङले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग मेरो श्रीमतीको जटिल स्वास्थ्य अवस्थाका बारेमा कुरा राखेपछि उहाँकै पहलमा आजबाट औषधिबाहेक सबै निःशुल्क उपचार हुने उहाँले बताउनुभयो । उहाँका अनुसार सांसद लामाले आफै यहाँ पुगी स्वास्थ्य अवस्था हेरफेर गर्नुका साथै व्यक्तिगतरुपमा रु.चौध हजार पनि सहयोग गर्नुभएको छ । दैनिक सात हजारसम्मको औषधि लाग्ने समस्यालाई बुझेर साथीभाईहरुले पनि आर्थिक सहयोग गरिरहनुभएको छ ।

अब पुनस्र्थापन केन्द्र काठमाडौंका लागि अस्पतालले रेफर गरेको र त्यसका लागि अँझै एक हप्ता समय लाग्ने गिरीले बताउनुभयो । थवाङ गाउँपालिका १ रोल्पा माईती भई जनमुक्ति सेनाको बटालियन कमाण्डर हुँदाका बखत तत्कालिन जनमुक्ति सेनाको स्वास्थ्य विभाग प्रमुख जुम्लाका प्रेमराज गिरीसँग बालकुमारी घर्ती मगरले विवाह गर्नुभएको थियो ।

युद्धको समयमा उहाँको शरीरमा गोली लागेका कारणले आजको यो अवस्था आइपुगेको उहाँले बताउनुभयो । शान्ति प्रक्रियापछि छैटौं डिभिजन दशरथपुर सुर्खेतमा रहेर काम गर्नुभएको थियो । आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि सामाजिक सञ्जालमार्फत सहयोगका लागि परिवारले याचना गरेको छ । सहयोगका निम्ति बिरामी बालकुमारीका श्रीमान प्रेमराज गिरीकाको मोबाईल नंः ९८४२५३९८६८ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिकृया दिनुहोस्