OnlinePana

आज : २०८१ बैशाख २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २८, २०८०जुम्ला
२४१ पटक

२८ कात्तिक २०८०, मंगलबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितहरुलाई घरदैलोमै पुगेर उपचार सेवा प्रदान गरेको छ ।

प्रतिष्ठानका उपकुलपति डा.मंगल रावल, शिक्षाअध्यक्ष डा.डबलबहादुर धामी, एनेस्थियोलोजिस्ट डा.रविन खातुङ्, डा.तोसिमा कार्की भूकम्प प्रभावित क्षेत्रमा पुगेर घाईतेहरुलाई उपचार गरेर फर्केको हो । जाजरकोटको भेरीगंगा र नलगाड नगरपालिका तथा कुशे गाउँपालिका र रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाका हातखुट्टा भाँचिएका, हड्डी टुटेकालगायत सबैखाले समस्या भएका घाईते तथा बिरामीहरुको उपचार गरिएको उपकुलपति डा.रावलले जानकारी दिनुभयो ।

प्रतिष्ठानको टोलीले उर्जामन्त्री शक्तिबहादुर बस्नेत, प्रदेश सरकारका मन्त्रीहरु, जाजरकोट जिल्ला अस्पताल व्यवस्थापन समिति र सरोकारवालाहरुसँग ५० शैयाको अस्पताल गर्नुपर्ने देखि विभिन्न नीतिगत योजनामा छलफल गरेको उहाँले बताउनुभयो । त्यस्तै, भविश्यमा आईपर्ने विपद प्रतिकार्य, रोकथामका लागि अस्पताललाई तयारी अवस्थामा राख्न र त्यसमा प्रतिष्ठानले विशेषज्ञ डाक्टरी उपचार सेवा प्रदान गर्ने विषयमा पनि अन्तरक्रिया भएको उहाँको भनाई छ ।

उपकुलपति डा. रावलले भन्नुभयो, “सरकारले अत्याधुनिक उपकरणसहित अपरेसन थिएटर (शल्यक्रिया कक्ष), सघन उपचार युनिट (आईसियु)लगायतका सुविधाहरुको व्यवस्था गर्नुपर्दछ । विशेषज्ञ जनशक्ति प्रतिष्ठानले उपलब्ध गराउँछ ।” उहाँले जिल्ला अस्पताल जाजरकोटको अस्पताल प्रमुख डा.प्रतिक्षा भारतीलाई रु.तीन लाख बराबरको आवश्यकीय औषधि, चिकित्सा सामग्री सहयोग गरिएको जनाउनुभयो ।

उहाँका अनुसार प्रतिष्ठानका जनस्वास्थ्य डीन प्राडा.क्षेत्री नेतृत्वको जनस्वास्थ्य विशेषज्ञ र मनोसामाजिक परामर्शदाता सम्मिलित टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । उक्त टोलीले प्रभावित क्षेत्रमा स्वास्थ्य तथा सरसफाई सम्बन्धी जनचेतनाको अभिायन सञ्चालन गर्नुका साथ अमेरिका–नेपाल मेडिकल फाउण्डेसनद्वारा पीडितहरुलाई सहयोग गरिएको एक हजार हाइजेनिक किटस्हरु वितरण गरेको छ ।

विपद्पश्चात् उद्धारको काम सकिएको जनाउँदै उपकुलपति डा.रावलले तत्काल सबैलाई अस्थायी बास, त्रिपाल र न्यानो कपडा सरकारले व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । संभावित महामारी रोक्न सघन जनस्वाथ्य अभिायन सञ्चालन, प्राथमिक स्वास्थ्य उपचारका लागि अनिवार्य ५० बेडको अस्पताल, प्रयाप्त मेडिकल तथा सर्जिकल उपकरण र जनशक्ति आवश्यक विषय भएको उहाँको भनाई थियो ।

अब तिहारपछि प्रतिष्ठान जुम्लाले जनस्वास्थ्य, चिकित्सा, नर्सिङ् र विभिन्न फ्याकल्टीमा अध्ययनरत विद्यार्थीहरुलाई जनस्वास्थ्य अभियान सञ्चालनका लागि परिचालन गर्ने योजना बनाएको छ । जतिसक्दो द्रुत तवरबाट सरकारले जाजरकोट अस्पतालका लागि ओटी र आईसियुसहित उपकरणको प्रबन्ध गरेमा प्रतिष्ठानले विशेषज्ञ जनशक्ति उपलब्ध गराउने योजना बनाइएको उपकुलपतिले जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्