OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २०, २०८०सुर्खेत
१६२६ पटक

२० कात्तिक २०८०, सोमबार

मध्यपश्चिम विश्वविद्यालयले जाजरकोट तथा रुकुमपश्चिमका भूकम्प पीडितहरुलाई रु.१२ लाख बराबरको राहत सहयोग गरेको छ ।

विश्वविद्यालयका उपकुलपति प्राडा.नन्दबहादुर सिंहले आज उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उर्जामन्त्री शक्ति बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाह, आर्थिक मामिलामन्त्री बेदराज सिंह र जाजरकोका समन्वय प्रमुखको रोहवरमा जाजरकोटका भूकम्प प्रभावितहरुका लागि प्रमुख जिल्ला अधिकारी सुरेश सुनारलाई रु.चार लाख ४० हजारको चेक हस्तान्तरण गर्नु भएको हो । बाँकी रु.दुई लाखको लत्ताकपडा, भाडाँवर्तन र खाद्यान्नलगायतका जिन्सी सामग्री हस्तान्तरण गरिएको उपकुलपति प्राडा.सिंहले जानकारी दिनुभयो ।

त्यसैगरी, विश्वविद्यालयले रुकुमपश्चिमका भूकम्प पीडितहरुलाई रु.पाँच लाख ४७ हजार पाँच सय ३२ बराबरको राहत सहयोग हस्तान्तरण गरेको छ । जसमा विश्वविद्यालय परिवारबाट संकलित रु.तीन लाख ४७ हजार पाँच सय सातको चेक रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बाँकी र दुई लाख २५ को लत्ताकपडा, खाद्यान्न, भाडाँवर्तनलगायतका आधारभूत सामग्री सहयोग गरिएको छ ।

मध्यपश्चिम विश्वविद्यालयमा अध्यापनरत प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र कर्मचारीहरुको एक दिनको तलब काटेर संकलन गरिएको रकमबाट भूकम्प प्रभावितहरुलाई राहत सहयोग गरिएको उहाँले जानकारी दिनुभयो । उपकुलपति प्राडा.सिंहले भन्नुभयो, “जब जब हृदयविदारक अवस्थाहरु आउँछन्, तब मध्यपश्चिम विश्वविद्यालय जनताको साथमा थियो, छ र हुनेछ । कोभिड–१९ को महामारीको बेला पनि विश्वविद्यालयले आफ्नो सक्रिय भूमिका निर्वाह गरेको थियो ।” उहाँले यो संकटको समयमा भूकम्प पीडितहरुलाई सहयोगी हात फिजाउन अनुरोध गर्नुभएको छ ।

 

प्रतिकृया दिनुहोस्