OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन ३०, २०८० सुर्खेत
२९३ पटक

३० असोज २०८०, मंगलबार

कर्णाली प्रदेश सरकारको प्रथम त्रैमासिक प्रगति सार्वजनिक गरिएको छ । मुख्यमन्त्री राजकुमार शर्माले आज एक पत्रकार भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम गरी चालु आव.२०८०÷०८१ को तीन महिनाको अवधिमा प्रदेश सरकारबाट सम्पादन भएका कामहरुको प्रगति सार्वजनिक गर्नुभएको हो ।

नजिकिदै गरेको विजयादशमी, तिहार तथा छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका कर्णाली तथा देशभरिका आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गर्दै उहाँले सीमित साधन स्रोत, जनशक्तिको अभावका बीचबाट प्रदेश सरकारले यहाँका नागरिकहरुको आर्थिक सम्पन्नता र सामाजिक न्यायको प्रत्याभूति हुनेगरी काम थालेको बताउनुभयो ।

मुख्यमन्त्री शर्माले चालु आव.को नीति तथा बजेट निर्माण र स्वीकृति भई कार्यान्वयनको चरणमा रहेको, लगानी सम्मेलनको तयारी भइरहेको, स्वीजरल्याण्ड भ्रमणमा प्रदेशको आर्थिक विकासका लागि प्रस्ताव तयारी गरी लगानीबारे छलफल भइरहेको, विभिन्न खाले प्राकृतिक विपद्मा परी क्षति पुगेका कृषकहरूलाई रु.छ करोड राहत उपलब्ध लगायतका कामलाई प्रथम त्रैमासिक उपलब्धिका रुपमा उल्लेख गर्नुभयो ।

उहाँका अनुसार यस अवधिमा प्रदेशसभाबाट कर्णाली प्रदेश विनियोजन र आर्थिक ऐन, कर्णाली प्रदेश निजामती सेवा ऐन, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन पारित भएका छन् । तीन वटा विधेयक सभामा दर्ता भई विषयगत समितिमा छलफल भइरहेको र नौ वटा विधेयकको मस्यौदा निर्माणको कार्य भइरहेको मुख्यमन्त्री शर्माले बताउनुभयो ।

त्यसैगरी, प्रदेश सरकारका सचिव आनन्द सारुले सरकार साउन यता सहायकस्तरका तीन सय ६० कर्मचारीलाई नियुक्तिका लागि सिफारिस गरिसकेको जानकारी दिनुभयो । कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना गरी कार्य सञ्चालन गरेको जनाउँदै उहाँले सरकारले दश कार्याविधि र तीन मापदण्ड निर्माण गर्नुका साथै विकास निर्माणका कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको लगायतका ४४ बुँदे कार्य प्रगतिको पत्र सार्वजनिक गर्नुभयो ।

‘समृद्ध कर्णाली सुखारी कर्णालीवासी’को उद्देश्य पूरा गरी सरकारलाई जनउत्तरदायी बनाउन अगाडि बढेको प्रदेश सरकारले कृषि र वन पैदावरका माध्यमबाट रोजगारी सिर्जना गर्ने र त्यसबाट स्वरोजगार हुने वातावरण तयार गर्ने बताएको छ । यसका लागि विषयगत मन्त्रालय, आयोग र मातहत निर्देशनालय तथा जिल्ला कार्यालयहरुलाई बजेट कार्यान्वयनमा जोड दिन निर्देशन गरिएको बताइएको छ ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसी, प्रदेश सरकारका कायममुकायम सचिव चूडामणि पौडेल, प्रदेश सचिवहरु तथा पत्रकार सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्