OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २६, २०८०सुर्खेत
२६३ पटक

२६ असोज २०८०, शुक्रबार

एक दशकको अवधिमा मध्यपश्चिम विश्वविद्यालयको बेरुजु रु.एक अर्ब १२ करोड ५८ लाख ७७ हजार पुगेको छ ।

विश्वविद्यालय प्रशासनले शुक्रबार केन्द्रीय कार्यालय वीरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलन कार्यक्रममार्फत एक दशकको बेरुजु अवस्था सार्वजनिक गरेको हो । विश्वविद्यालयका रजिष्ट्रार प्राडा.नारायणप्रसाद पौडेलले स्थापना कालमा उपकुलपति प्राडा.पदमलाल देवकोटा र रजिष्ट्रार सह–प्राडा. ठगेन्द्रप्रसाद गिरी हुँदाका बखत विसं.२०६८÷०६९ मा रु.८३ लाख ९८ हजार बेरुजु हुँदा विसं.२०७८÷०७९ आएर रु.एक अर्ब १२ करोड ५७ लाख पुगेको बताउनुभयो ।

“यसमा असुलउपर र सैद्धान्तिक एवं प्रक्रियागत बेरुजु परेको छ,” रजिष्ट्रार पौडेलले भन्नुभयो, “यसको लागि एक वर्ष अघि बेरुजु फछ्र्यौट समिति गठन गरेपनि त्यसले काम गर्न नसकेपछि अहिले बीरबहादुर पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।” यसलाई पनि तीन महिनाभित्र प्रतिवेदन दिने अवधि दिइएको यद्यपि काम नसकेपछि पुनः म्याद थपिएको उहाँले बताउनुभयो ।

उहाँले असुल उपर गर्ने बेरुजुमा रु.६३ लाख ६६ हजार ९६४ मा केही प्रतिशत मात्र असुल भएको बताउनुभयो । रजिष्ट्रार पौडेलका अनुसार रु.१२ करोड ४० लाख ५१ हजार बेरुजु सम्परीक्षण गरिएको छ । अझै करिब रु.एक अर्ब बेरुजु विश्वविद्यालयले फछ्र्यौट गर्न बाँकी छ ।

आर्थिक वर्ष २०७५÷०७६ मा उपकुलपति प्राडा.उपेन्द्रकुमार कोईराला र रजिष्ट्रार डा.महेन्द्रकुमार मल्लको पदावधिमा सबै भन्दा बढी रु.चालीस करोड ५९ लाख ६० हजार (३६.०४) प्रतिशत बेरुजु आएको उहाँले बताउनुभयो । यहाँ असुल उपर गर्नुपर्ने बेरुजु पनि रहेको उहाँको भनाई थियो ।

विश्वविद्यालयका उपकुलपति प्राडा.नन्दबहादुर सिंहले करिब १३ वर्षको बेरुजुलाई सबै आफ्नो पालामा गरेको जस्तो गरेर सामाजिक सञ्जाल तथा समाचार माध्यमबाट आएपछि त्यसको भ्रम हटाउन पत्रकार सम्मेलन कार्यक्रम गरिएको बताउनुभयो । विश्वविद्यालयकै पदाधिकारीहरुको हेलचक्र्याईका कारण केही बेरुजु देखिएपनि यसलाई कम गर्न निकै मेहनत गरेको उहाँको भनाई थियो ।

उपकुलपति प्राडा.सिंहले रजिष्ट्रारलगायतका पदाधिकारीहरुलाई आफ्नो जिम्मेवारी पुरा गर्न निर्देशन दिँदै विश्वविद्यालयको सम्पति नष्ट हुनेगरी काम गर्ने र आफ्नो व्यक्तिगत हितमा केन्द्रीत भएर सार्वजनिक सम्पति हिनामिना गर्न चेष्टा राख्ने जो सुकैलाई कारवाही गरेर देखाउने चेतावनी दिनुभयो । विश्वविद्यालयलाई नेताको पकेट बनाउने गरी काम गर्ने पदाधिकारीहरुलाई चिनेको र धेरै गरे नछोड्ने उहाँको जिकिर थियो ।

प्रतिकृया दिनुहोस्