OnlinePana

आज : २०८३ जेठ १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १८, २०८०सुर्खेत
३६२ पटक

१८ असोज २०८०, बिहीबार

टाउकोमा गम्भीर चोट लागेर छ दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसियुमा राखिएका एक बिरामीलाई नेपाल वायुसेवा निगमको जहाजबाट उद्धार गरिएको छ ।

जुम्ला पातारासी गाउँपालिका ४ लुम गाउँका ३४ दीपबहादुर रावतलाई आज नेपाल वायुसेवा निगमको जहाजबाट उद्धार गरी थप उपचारका लागि नेपालगञ्ज पुर्याइएको हो । यही असोज ११ गते लुम गाउँको पुलबाट तल खस्दा उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो । घटनास्थलबाट तत्काल प्रतिष्ठान जुम्लामा पुर्याइएका रावतको सिटी स्क्यान गर्नुपर्ने तर उक्त सेवा जुम्लामा नहुँदा नेपालगञ्ज झार्नुपरेको रावतका आफन्त हरिबहादुर बुढाले जानकारी दिनुभयो ।

“हामीले एक हप्तासम्म निजी एयरलायन्स, नेपाली सेनालाई पनि हेलिकोप्टर पठाइदिन जिल्ला प्रशासन कार्यालय जुम्लामार्फत पठाइदिन आग्रह गर्यौं तर उनीहरुले बिरामी बोक्न मानेनन् ।” बुढाले भन्नुभयो, “अन्तमा जुम्लाकै सांसद छिरिङ ल्हामु लामा तामाङ्मार्फत पर्यटनमन्त्री सुदन किराँतीलाई आग्रह गरेपछि जहाँज आयो र अक्सिजन सिलिण्डरसहित थप उपचारका लागि बिरामीलाई नेपालगञ्ज न्यूरो हस्पिटलमा पुर्याउन सफल भयौं ।” सरकारले तत्काल दिएको सेवाले खुसी तुल्याएको उहाँले बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले बिरामीको उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज जुम्लामा पठाउनुपर्ने भएकोले पूर्वी जिल्लामा निगमले दिने सेवाबाट नागरिकमा पर्न गएको असुविधाप्रति क्षमा याचना गर्नुभएको छ । उहाँले गम्भीर प्रकृतिका बिरामीको उद्धारका लागि निगमबाट एयर एम्बुलेन्सको व्यवस्था गरिनेसमेत जनाउनुभएको छ ।

प्रतिकृया दिनुहोस्