OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १७, २०८०सुर्खेत
१६४ पटक

१७ असोज २०८०, बुधबार

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले अपरकर्णाली पोषणयुक्त बाली उत्पादनको परिचित एवं प्रचुर संभावनाको क्षेत्र भएको बताउनुभएको छ ।

नेपालकै दुर्गम जिल्ला हुम्लामा बिहीबारदेखि सुरु हुन लागेको प्रथम अन्तर्राष्ट्रिय कोदो महोत्सव उद्घाटनका लागि त्यहाँ पुग्नुभएका मन्त्री शर्माले आज प्रेस सेन्टर हुम्लाद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै पोषणयुक्त रैथानेबाली उत्पादन हुने क्षेत्रका बालबालिका कुपोषण हुनु दुर्भाग्यको विषय भएको बताउनुभयो । “जहाँ पोषणयुक्त बालीको भण्डारण छ, त्यहाँ कुपोषण हुन्छ कसरी ?” प्रश्न गर्दै उहाँले भन्नुभयो, “तर यहाँकै बालबालिकामा कुपोषण बढी छ भनेर खबर आइरहन्छन् र तथ्याङ्कमा पनि त्यस्तो देखिन्छ ।”

अर्कोतिर कोदो, फापर, चिनो, कागुनो जस्ता रैथानेबालीको उत्पादन बढाएर कुपोषण हटाउनुपर्ने मन्त्रालयको प्रतिवेदनमा रहेको उहाँले बताउनुभयो । कर्णालीमा पहिलो पटक अन्तर्राष्ट्रिय कोदो महोत्सव हुम्लामा हुनुले नयाँ सन्देश दिनुका साथै रैथानेबाली उत्पादनमा वृद्धि तथा बजारीकरणमा सहयोग पुग्ने मन्त्री शर्माको भनाई थियो । उहाँले दक्षिण एशियामा सबैभन्दा कोदो उत्पादन हुने देश भारत र त्यसपछिको नेपाल भएको समेत दावी गर्नुभयो ।

कर्णालीमा उपज हुने मूल्यवान वस्तु कोदो, चिनो, कागुनो, फापरलगायतका बालीको उत्पादन तथा बजारीकरणमा समायोजन हुने जनाउँदै मन्त्री शर्माले भन्नुभयो, “रैथाने र पोषणयुक्त मूल्यवान वस्तु उपभोग गर्ने क्षेत्रलाई गरिब, पछि परेको भन्ने भाष्य अब सम्पन्नतामा परिणत गर्नुछ । कर्णाली गरिब होइन, मूल्यवान र औषधिजन्य बाली उत्पादन गर्ने देशको महत्वपूर्ण भूभाग हो । यसको विकासमा प्राथमिकता दिन अपरिहार्य छ भन्ने सन्देश संघीय सरकारलाई महोत्सवले दिनेछ ।”

कृषि मन्त्रालयका सचिव डा.नरहरिप्रसाद घिमिरेले रैथानेबाली उत्पादनसँगै यहाँका नागरिकहरुले उपभोग विधिमा विशेष ध्यान दिन सुझाउनुभयो । “कर्णालीको पोषणयुक्त उत्पादनको माग अन्तर्राष्ट्रिय बजारले गर्दैछ तर यही कुपोषण बढी छ” उहाँले भन्नुभयो, “अब हामीले खानपान र हाम्रा उत्पादनहरुको सही सदुपयोग गर्ने कुरामा ध्यान दिन आवश्यक छ ।” भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय आर्थिक सहयोगमा कृषि विकास कार्यालय हुम्लाद्वारा आयोजित महोत्वसमा कोदोबाट बनेका विभिन्न खाद्य परिकार, कोदोजन्य रैथाने अन्नबाली राखिने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्