OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन ११, २०८०सुर्खेत
२१२ पटक

११ असोज २०८०, बिहीबार

कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारले सुर्खेत–हिल्सा सडक निर्माणमा जोड दिने बताउनुभएको छ ।

गुर्भाकोट नगरपालिका सुर्खेत बोटेचौरस्थित स्थापना भएको भेरी कोरिडोर सिंचाई तथा नदी व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन कार्यक्रममा आज बोल्दै उहाँले सुर्खेत–हिल्सा जोड्ने सडक निर्माणपछि कर्णाली र भेरी करिडरका सडक बनाईने बताउनुभयो । उहाँले भन्नुभयो, “यो आयोजना विगतमा ओझेल पर्दै गएपनि अबका दिनमा तीव्रताका साथ अगाडि बढ्नेछ ।”

उपप्रधान तथा रक्षामन्त्रीसमेत रहनुभएका खड्काले आर्थिक प्रतिकुलताको बीचमा कोरोना महामारीले अर्थतन्त्रमा पारेको असरलाई चिर्दै प्रधानमन्त्री प्रचण्डको नेतृत्वको सरकार सबल अर्थतन्त्र निर्माणमा लागिपरेको बताउनुभयो । अर्थतन्त्रको चलायमानका लागि सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएकोले बिगतको तुलनामा नयाँ आयोजनामा पर्याप्त बजेट विनियोजन गरिएको उहाँको भनाई थियो ।
कर्णालीको जल, जडिबुटी र कृषिजन्य उत्पादनलाई प्रयोगमा ल्याउन र यहाँका सम्भावनालाई केन्द्रसँग जोडेर लैजाने हिसाबले काम भइरहेको बताउँदै कार्यवाहक प्रधानमन्त्री खड्काले निर्वाचन अवधिमा फरक दल भएपनि कर्णालीको विकास र समृद्धिको पक्षमा सबै जनप्रतिनिधिहरुको एकमत रहेको उहाँले जनाउनुभयो ।

उहाँले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणले मुलुकको पूर्वाधार तथा उर्जा विकासका क्षेत्रमा महत्वपूर्ण सम्झौता गरेको बताउनुभयो । उहाँका अनुसार सुशासन एवं जनमैत्री शासन व्यवस्थाको प्रत्याभूति जनतालाई गराउने खालका सुशासनसँग सम्बन्धित कार्ययोजना सार्वजनिक गरिनेछ ।

कर्णालीलाई बजेट विनियोजनमा पहिलो प्राथमिकता राखेको बताउनुभएको उहाँले यहाँका जनताको खुशी र समृद्धिका लागि सबैदल एक हुनुको विकल्प नभएको जिकिर गर्नुभयो । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले आयोजनाको कार्यालय स्थापना हुनुमा कार्यवाहक प्रधानमन्त्रीको विशेष योगदान रहेको जनाउनुभयो ।

जलस्रोत तथा उर्जा विकासमन्त्री उर्मिला विश्वकर्माले भेरी कोरिडोर क्षेत्रको विकासले कर्णालीको आर्थिक समृद्धिमा सहयोग पुग्ने बताउनुभयो । आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले आयोजनाको अलग्गै कार्यालय हुनुले काममा छरितोपन आउने र पर्यटन विकासमा पनि सघाउ पुग्ने जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्