OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १०, २०८०सुर्खेत
२९० पटक

१० असोज २०८०, बुधबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको एकल बहुमतको सरकार बनाउन ‘मिसन–८४’मा लाग्न नेता कार्यकताहरुलाई निर्देशन दिनुभएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित नेकपा एमाले कर्णाली प्रदेश कमिटिको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महान् अभिभारा पुरा गर्ने संकल्प बोकेर एमालेले मिसन–८४’ लाई अर्थपूर्ण बनाउने दावी गर्नुभयो । उहाँले भन्नुभयो, “वडा तहबाटै एमालेलाई ५१ प्रतिशत बनाउन अहिलेदेखि लाग्नुस् । बलियो राष्ट्रिय शक्ति बनाउन संकल्प गर्नुस् ।”

देशकै दुर्गम भएपनि प्राकृतिक र साँस्कृतिक हिसाबले सम्पन्न कर्णालीको मानवीय संशाधन, शिक्षा, स्वास्थ्य, रोपवे, पूर्वाधारलगायतका विकास आवश्यक भएको तर अहिले सरकारले गर्न नसकेको उहाँले टिप्पणी गर्नुभयो । फुटेको पार्टी नाम एकीकृत समाजवादी अरे भन्ने व्यंग्य गर्दै उहाँले माघमा हुने भनिएको एकीकृत समाजवादीको महाधिवेशनलाई रित्याईदिन कार्यकर्ता पंक्तिलाई अपिल गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सार्वभौमिकता र स्वाधिनताको रक्षा अनि सहकारी र सहकार्यको माध्यमबाट उत्पादनको अगुवाई एमालेले गर्ने बताउनुभयो । नयाँ निर्माण भएका पार्टीहरुलाई लोकतन्त्रको टुप्पोमा पलाएको एैजेरुको संज्ञा दिँदै अध्यक्ष ओलीले भन्नुभयो, “टुप्पोमा पलाएकाहरुको जरा नै हुृँदैन तर हामीलाई पुरानो पार्टी भनेर भनेर हेपिरहेका छन् । त्याग, तपस्या र बलिदानबाट निर्माण भएको पार्टी भएको शक्ति र अनुभवारे बुझेकै छैनन् ।”

त्यसैगरी, उहाँले मानवताविरुद्धको अपराधीलाई सरकारले सत्ता र शक्तिको बलमा उन्मुक्ति दिएको जिकिर गर्दै प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्केपछि सरकारसँग एमालेले गरेको सहमति कार्यान्वयनको विषय उठान गरिने जनाउनुभयो । गठनबन्धन सरकार सत्ता टिकाउन लम्पसार परेको र जनताका हितमा कुनैपनि काम नगरेको उहाँको दोषारोपण थियो ।

कर्णाली प्रदेशको अधिवेशनबाट जनतालाई सही सन्देश दिन सहमति गर्न सुझाउनुभएका उहाँले गुटउपगुटको झमेलामा नफस्न आग्रह गर्नुभयो । प्रदेश अधिवेशनमा व्यववधान आए साविककै कमिटि निरन्तर हुने चेतावनीसमेत अधिवेशनमा भाग लिनुभएका सहभागीहरुलाई दिनुभयो ।

पार्टी महासचिव शंकर पोखरेलले नेपाली भाषा र संस्कृतिको उद्गम थलोको कर्णालकिो विकास र समृद्धिको सफल नेतृत्व नेकपा एमालले गर्ने बताउनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्न एमालेलाई जनताको रोजाई पार्टीका रुपमा सुदृढ गरिने उहाँको भनाई थियो ।

महासचिव पोखरेलले भन्नुभयो, “राजनीतिक अस्थिरता र सामाजिक अराजकता आजको ठूलो चुनौति बनेको छ । देशमा आर्थिक संकट बढ्दै गएको छ । सरकारलाई यस्ता संकटबारे कुनै चासो छैन । सत्ता जोगाउनमै सरकार तल्लिन देखिन्छ । त्यसैले राष्ट्रमा उत्पन्न समस्या समाधान गर्न एमाले बलियो शक्तिका रुपमा अगाडि आउनुपर्छ ।”

उहाँले सरकार प्राथमिकता नभएको स्पष्टोक्ति दिँदै अदालत अदालत जस्तो, संसद ससंद जस्तो र सरकार सरकार जस्तो नभएको टिप्पणी गर्नुभयो । आज उद्घाटन भएको अधिवेशन भोलि बन्द सत्रमा परिणत हुने जनाउँदै प्रदेश कमिटि अध्यक्ष विनोदकुमार शाहले उक्त बन्द सत्रले पाँच जना पदाधिकारीसहित एक सय ३५ सदस्यीय प्रदेश कमिटि निर्वाचित गर्ने बताउनुभयो ।

अधिवेशनमा छ सय चार जना प्रतिनिधिले भाग लिएका छन् । जसमा एक सय १२ सुर्खेत, ७५ जाजरकोट, ७४ दैलेख, ६५ कालिकोट, ४८ हुम्ला, ४८ जुम्ला, ४८ सल्यान, ३९ डोल्पा, ३३ मुगु र २३ रुकुमपश्चिमबाट गरी ५५४ जना प्रतिनिधि रहेका छन् । विभिन्न २२ वटा मोर्चा तथा संगठनका ५० जनाको प्रतिनिधित्व उहाँले जनाउनुभयो ।

उक्त अधिवेशनमा एक सय ९५ जना महिला र चार सय सातजना पुरुषहरुको सहभागिता रहेको छ । त्यस्तै, ७३ जना पुरुष र ३८ जना महिला गरी एक सय ११ जना दलितहरुको प्रतिनिधित्व हुने नेकपा एमाले प्रदेश कमिटिले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्