OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन ९, २०८०जुम्ला
१४४ पटक

९ असोज २०८०, मंगलबार

तिला गाउँपालिका ४ जुम्ला साँपुल्ली गाउँका करिब २१ वर्षीय प्रवेश कामी दुई सातादेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भेन्टिलेटरमा बेहोस् अवस्थामा रहे । आर्थिक अभावका कारण उनको थप उपचारका लागि परिवारले काठमाडौं लिन सक्ने अवस्था भएन ।

फोक्सो र मष्तिष्क रोगले थलिएका प्रवेशको प्रतिष्ठानको सीमित साधन स्रोतका कारण थप उपचार हुन सकेन । थप उपचारका लागि अक्सिजन सिलिण्डरसहित उनलाई हेलिकोप्टरमार्फत काठमाडौं सुरक्षित ढंगले लैजानुपर्ने थियो । करिब रु.छ लाखसम्म रकम आवश्यक हुने तर भएको पैसा उपचार गर्दै सकिएकोले परिवारलाई रकम जुटाउन हारगुहार गर्नुको विकल्प थिएन ।

सामाजिक सञ्जालमार्फत् सहयोगी मनहरुबाट उनलाई थप उपचार गर्न काठमाडौं लैजानका लागि रकम संकलन हुँदै थियो । रु.६५ हजारसम्म जम्मा भएको रकमले हेलिकोप्टर मगाउन सकिने अवस्था थिएन । करिब दुई सातादेखि प्रवेश भेन्टिलेटरमा मृत्युसँग लडिरहेका थिए । उपचारमा ढिला हुँदै थियो । परिवारले स्थानीय तथा प्रदेश सरकारसँग सहयोगको याचना गरेतापनि उनीहरुलाई सहयोग प्राप्त हुन सकेन ।

सुरुमा निमोनिया भएर उपचारका लागि प्रतिष्ठानमा गएका उनलाई पछि फोक्सो तथा मष्तिष्कसम्बन्धी गम्भीर रोगका कारण ११ दिनसम्म भेन्टिलेटरमा राखिएको थियो । प्रतिष्ठानका डा.नवीन थापाका अनुसार प्रवेशलाई स्वासप्रश्वासमा गम्भीर समस्या आएपछि भेन्टिलेटरमा राख्नुपरको थियो । उहाँले भन्नुभयो, “प्रवेशलाई जब भेन्टिलेटरबाट बाहिर निकाल्न खोज्थ्यौं तब सास फेर्न नै गाह्रो हुन्थ्यो ।”

यतिका दिनसम्म ऊ होस्मा नै नआएर आज उसको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । खाउँखाउँ र लाउँलाउँ भन्ने अवस्थाको छोरोको ज्यान गएपछि परिवार अहिले शोकमा डुबेको छ । मृतकका बुबा जमाने कामीले छोराको उपचारमा सरकारले कुनै सहयोग नगर्दा अकालमै ज्यान गुमाउनुपरेको पीडा व्यक्त गर्नुभयो ।

“हामीलाई आपतविपद् पर्दा हाम्रा निम्ति सरकार कहाँ रहेछ र ? गरिब, निमुखाहरुले आर्थिक अभावकै कारण ज्यान गुमाउनुपर्ने बाध्यता भएको देशमा जन्मनु धिक्कार रहेछ, ।” पीडा पोख्दै कामीले भन्नुभयो ।

 

प्रतिकृया दिनुहोस्