

६ असोज २०८०, शनिबार
सल्यानमा जनतासँग ‘माओवादी विशेष रुपान्तरण अभियान’ योजनावद्ध ढंगले अगाडि बढेको छ । अभियानलाई सफल र प्रभावकारी बनाउन थालिएको तीन महिने अभियान क्यालेण्डरसमेत सार्वजनिक गरिएको छ । यो अभियानलाई सल्यानी मोडलका रुपमा लिइएको छ ।
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा सल्यान जिल्ला ईञ्चार्ज नरेश भण्डारी नेतृत्वको अभियान टोलीले भदौ ७ गतेदेखि मंसिर ५ गतेसम्मको तीन महिने अभियान क्यालेण्डर सार्वजनिक गरेको हो । ‘रुपान्तरित र विस्तारित माओवादी निर्माण हाम्रो अभियान, समृद्ध र सुशासित सल्यानका लागि गरौं योगदान’ भन्ने मूल नारासहित नेकपा (माओवादी केन्द्र) सल्यानद्वारा शहीद खिमहेधन जिल्ला अभिायन टोली गठन गरी तीन महिनासम्म हुने सबैखाले कार्यक्रमहरु समेटिएको अभियान क्यालेण्डर सार्वजनिक गरेअनुसार कार्यक्रमहरु हुँदै गएका छन् ।
जिल्लाको विस्तारित बैठक हुँदै विभिन्न संगठन तथा मोर्चाको प्रशिक्षण, घरदैलो, सिर्जनशील सप्ताह, विचार बहसलगायतका करिब ३१बुँदै कार्यक्रम निर्धारण गरिएको ईञ्चार्ज भण्डारीले बताउनुभयो । “जनतासँगको भेटघाटमा माओवादीले विकास र त्यसमा देखिएका बेथितिबारे छलफल उठान गर्दै आएको छ,” उहाँले भन्नुभयो, “आइसिटी भेला, इतिहासको विमोचन, अधुरा कार्य सम्पादन तथा प्रतिवेदन तयारी गर्ने कार्यलाई पनि व्यवस्थित बनाएर लगिएको छ ।”
त्यस्तै अभियानअन्तरगत पालिकास्तरका बैठक तथा प्रशिक्षण, जनवर्गीय संगठन तथा मोर्चाहरुको भेला÷सम्मेलन, संकल्पसभा तथा प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रम गरिनेछ । त्यसैगरी आज अनेस्ववियु क्रान्तिकारीसँग बैठक, असोज ७ गते पूर्वजनमुक्ति सेना र योङ्ग कम्युनिष्ट लिग नेपाल, ८ गते दलित तथा मगर मुक्ति मोर्चा नेपाल, ९ गते अखिल नेपाल किसान महासंघ तथा शहीद परिवार समाज नेपाल, १० गते अनेमसंघ (क्रान्तिकारी) र जनसाँस्कृतिक महासंघ नेपालसँग बैठक तथा भेला गरिनेछ ।
त्यसैगरी, असोज ११ गते सहकारी केन्द्र, आईसिटी फोरम र रिटर्नी नेपाल, १२ गते नेपाल बुद्धिजीवि संगठन, प्रेस सेन्टर नेपाल र अखिल नेपाल ट्रेड युनियन महासंघ, १३ गते एकीकृत अखिल नेपाल शिक्षक संगठन, राष्ट्रिय कर्मचारी संगठन निजामती, प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको बैठक तथा भेला गर्ने कार्यतालिको रहेको छ ।
मुख्यतः शहीद खिमहेधन अभियान टोलीले २२ वटा महत्वपूर्ण कार्यक्रम सल्यानमा गर्दैछ । मतदातासँग कुरा, माओवादीसँग जनका कुरा, सल्यानीसँग सरकार, संकल्पसभा, जनतासँग जनसंगठन, विचार बहस, संगठन नै शक्ति, उत्पादन उत्प्रेरणा, श्रम शुक्रबार, सञ्चारकर्मीसँग सहकार्य, म लेख्छु, म पढ्छु, म बोल्छु, म गर्छु, सिर्जनशील सप्ताह सुशासनको सुईको र संघर्ष, भुड्की, शिक्षा सिकायत र समाधान, स्वास्थ्यमा सकस र समाधान, विकासमा विवेक र बेथिति, दुःखसँग दुई दिन र घरघरमा माओवादी, जनजनमा माओवादी कार्यक्रम गरिने इञ्चार्ज भण्डारीले जानकारी दिनुभएको छ ।