OnlinePana

आज : २०८२ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र १६, २०८०
६६० पटक

१६ भदौ २०८०, शुक्रबार

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले युवा स्वरोजगार प्रदेश सरकारको महत्वाकांक्षी योजना भएको बताउनुभएको छ ।

कम्प्यूटर एसोशिएन नेपाल (क्यान) महासंघ सुर्खेत शाखाद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘आईटी एजेकेशन तथा करिअर प्लानिङ’ कार्यक्रममा बोल्दै योजनामन्त्री सिंहले युवा स्वरोजगारमार्फत कर्णाली समृद्धिको अभियान थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले कर्णालीको उद्यमशीलता, उत्पादनसँग जोडेर वार्षिक दश हजार युवाहरुलाई स्वरोजगार बनाउने महत्वाकांक्षी आयोजना ल्याएको छ । यसका लागि रु.एक अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ ।”

त्यसैगरी ७९ पालिका रहेको कर्णालीका सात सय १८ वटा वडा लक्षित गरेर ज्ञान र सीप प्राप्त गरेका युवाहरुलाई आत्मनिर्भर बनाउन सरकारले सहयोग गर्ने कार्यक्रम भएकोले ऐन, नियमावलीसँगै कार्यविधि बनाउने तयारीमा जुटिएको मन्त्री सिंहले बताउनुभयो । शिक्षाको गुणस्तर वृद्धि गर्न लगानी हुनुपर्नेमा जोड दिँदै उहाँले त्यसमा गरिने लगानी व्यवस्थित हुने खालको नीति आवश्यक रहेको जनाउनुभयो ।

कर्णालीको आर्थिक समृद्धिका लागि कृषिमा क्रान्ति आउनुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिष्टार रेग भण्डारी तथा सुर्खेतका नगर शिक्षा प्रमुख धिरेन्द्र शर्माले प्रविधि र शिक्षालाई सँगसँगै लिनुपर्नेमा जोड दिनुभयो । आजको दुनिया सूचना र प्रविधिबाट टाढा हुन नसक्ने भन्दै शिक्षा सूचना र प्रविधिमैत्री हुन आवश्यक रहेको उहाँहरुको भनाई थियो ।

प्रतिकृया दिनुहोस्