OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १४, २०८०सुर्खेत
१२५ पटक

१४ भदौ २०८०, बिहीबार

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोर्चा समाजवादको नयाँ यात्रामा जाने आन्दोलन भएको बताउनुभएको छ । आफ्नो समग्र जीवन राष्ट्रका लागि दिने बताउनुभएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा समाजवादी मोर्चा नेपालद्वारा आज आयोजित ‘सन्देश सभा’लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकको समृद्धि, सुशासन र सामाजिक न्यायका लागि समाजवादी मोर्चा गठन भई यसले आफ्नो अभियान थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्र, राष्ट्रिय र मुलुकको स्वाभिमान जोगाउन मोर्चा नयाँ संकल्पसहित अगाडि बढेको छ । यो यात्रा मोर्चाको आन्दोलन हो ।”

क्रान्तिकारीहरुलाई चनाखो बन्न र अझ ठूलो मोर्चा बनाएर एकतावद्ध ढंगले अगाडि बढ्न आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुक र नेपाली जनतालाई केन्द्रबिन्दुमा राखेर कम्युनिस्टहरुले आन्दोलनलाई गन्तव्य पुर्याउनुपर्नेमा जोड दिनुभयो । कम्युनिष्टहरुको नेपालको परिवर्तनमा ऐतिहासिक भूमिका बताउनुभएका उहाँले समाजवादी मोर्चा जनताको तागत बनेर आउने जिकिर गर्नुभयो ।

सम्बोधनको क्रममा उहाँले मुलुकमा व्याप्त भ्रष्टाचारविरुद्ध लडाई सुरु भएको र अब यो नरोकिने प्रतिवद्धता व्यक्त गर्नुभयो । “सरकारले थालेको सुशासन र भ्रष्टाचारविरुद्धको अभियान अँझ पेचिलो गरी अगाडि बढ्छ,” उहाँले भन्नुभयो, “यसमा नेपालका राजनीतिक दललगायत सबै सरोकारवालाहरुले सहयोग गर्नुपर्छ ।” उहाँले जनाताको सुख, मुलुकको समृद्धि, आन्दोलनको उपलब्धि, रक्षा र क्रान्तिको लागि मोर्चा अपहिार्य आवश्यकता भएको प्रतिक्रिया दिनुभयो ।

समाजवादी मोर्चाको अभियानले हिजोको सामन्ती राज्यका अवशेषलाई यसले समाप्त पार्ने बताउनुभएका प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा बनाउँदा अरुभन्दा आफू बढी खुशी भएको प्रतिक्रिया दिनुभयो । सोही क्रममा उहाँले विप्लवको सुरक्षा घेरामा आफूले जनयुद्ध अगाडि बढाएको उल्लेख गर्दैै परिवर्तनको पक्षमा अग्रसर भई राम्रा काम गर्दा हटाउँछु भन्नेलाई हटाएर देखाउन चुनौति दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकार भ्रष्टाचारविरुद्धमा अग्रसर हुँदा कांग्रेस, एमालेलाई लक्षित गरेको भन्ने कुरा मिथ्या भएको प्रतिक्रिया दिनुभएका उहाँले माओवादी र स्वयं प्रचण्डै त्यस्तो विषय आएपनि छोड्न नहुनेमा जोड दिनुभयो । उहाँले सरकारले राम्रो काम गरेको प्रतिक्रियावादी र दलालहरुलाई सह्य नभएकोसमेत जिकिर गर्नुभयो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चाले कम्युनिस्ट आन्दोलनलाई बचाउने क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्नुभयो । मुलुकलाई आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि मोर्चाको आवश्यक भएको उहाँले जनाउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले समाजवादी मोर्चाका कारण सरकार ढल्छ कि भन्ने आंकलन गरिएपनि कुनैपनि हालतमा यो सरकार नढल्ने दाबी गर्नुभयो ।

कम्युनिष्टहरु मिल्दा गठबन्धन भित्रको दल नेपाली कांग्रेसको मनमा चिसो नभई तातो पसेको बताउँदै उहाँले भन्नुभयो, “मोर्चा बन्दा कांग्रेसलई चिसो पस्यो कि भन्ने आंकलन गरिएको छ । त्यो गलत हो बरु वर्तमान सरकार जोगाउन यसले महत्वपूर्ण भूमिका खेल्नेछ । एकतामा शक्ति मिल्ने र शक्तिमा तागत जुट्ने भएकोले समाजवादी शक्तिहरु एक ठाउँमा आई पुगेका छन् ।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ल प्रतिगामी शक्ति र प्रति क्रान्तिकारीहरुले कम्युनिष्टहरुलाई देखी नसहेको आरोप लगाउनुभयो । क्रान्तिलाई पूर्णता दिएमात्र प्रति क्रान्तिकारी ध्वस्त हुने उहाँको भनाई थियो । महासचिव विप्लवले भन्नुभयो, “हाम्रो साझा निष्कर्ष होः समाजवादी मोर्चाको एउटै उद्देश्य हो, अब बचेखुचेका दलाल पूँजीवादलाई ध्वस्त पार्नु हो । नेपाललाई दलाल पूँजीवादी सत्ताबाट समाजवादी सत्तामा रुपान्तरण गर्नु हो ।”

आजको संसदीय व्यवस्था रहेसम्म मुलुकमा स्थिरता, स्वाधीनता, शान्ति, समृद्धि सम्भव नहुने भन्दै उहाँले अब नेपाली विशेषताको समाजवाद ल्याउने दिशामा जानुपर्नेमा जोड दिनुभयो । नेपालको रातो झण्डा र समाजवादी व्यवस्था स्थापनाका लागि थालिएको अभियान सम्राज्यवादीहरुले नरुचाएको जनाउनुभएको उहाँले अब मोर्चाको संरक्षण गर्दै त्यसलाई अगाडि बढाउने युगिन कार्यभार हामी रहेको बताउनुभयो ।

जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारी परिषद् सदस्य प्रकाश अधिकारीले विभिन्न ऐतिहासिक आन्दोलनसहित हजारौं सहिदहरुको बलिदानबाट प्राप्त संघीय गणतन्त्रात्मक व्यवस्था आइपुग्दा पनि मुलुक अप्ठ्यारो अवस्थामा पुगेको र उक्त समस्या समाधानका लागि समाजवादी मोर्चा गठन भएको बताउनुभयो । यसका लागि कम्युनिष्टहरुले न्यूनतम साझा समझदारीका आधारमा समाजवादी मोर्चा गठन गरी राजनीतिक स्थिरता, शान्ति, समृद्धि र विकासलाई केन्द्रमा राखेर समाजवादको यात्रा तय गरेको उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्