OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ९, २०८०काठमाडौं
६८ पटक

९ भदौ २०८०, शनिबार

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले स्वीट्जरल्याण्डको जुरिचमा हुने कार्यक्रममा कर्णालीको लगानीसम्बन्धी छलफल गरिने बताउनुभएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको शुक्रबार बसेको ३४औं बैठकलाई आफ्नो विदेश भ्रमणका बारेमा जानकारी दिँदै मुख्यमन्त्री शर्माले प्रदेशको समृद्धि र विकासका लागि सहयोग जुटाउन जुरिचमा जान थालिएको बताउनुभयो । उहाँका अनुसार अन्तराष्ट्रिय मानव अधिकार आयोग अन्तर सरकारी संस्था स्वीटजरल्याण्डको जुरिचमा वित्तिय, सामाजिक, मानवता, नीजि, सहकारी समुदाय र हरितसम्बन्धी कार्यक्रम सेप्टेम्बर १ र २ तारिखमा आयोजना हुँदैछ जहाँ कर्णाली प्रदेश सरकारको सहकार्य रहेको छ ।

“हाम्रो विपन्नता, अपुगता र समस्यालाई हाम्रो बलबुताबाट कसरी समाधान गर्ने भन्नेमा सरकार गम्भीर छ,” उहाँले भन्नुभयो, “कर्णालीमा लगानी भित्र्याउने र रोजगारी सृजना गर्ने गरी समृद्धिको कार्यक्रमलाई अगाडि बढाउने सन्दर्भमा जुरिचमा छलफल गरिनेछ । उक्त कार्यक्रममा भाग लिनका लागि साउन २३ गतेको संघीय सरकारको निर्णय बमोजिम भ्रमणका स्वीकृत पनि भइसकेको उहाँले जनाउनुभयो ।

बैठकमा प्रदेशसभा सदस्यहरुले आकस्मिक समयमा उठाएका विषयहरुको जवाफ दिँदै मुख्यमन्त्री शर्माले बाढी पहिरो जस्ता विपद्बाट हुम्लाको सर्केगाड, जुम्लाको पातारासी र सल्यानमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो । ठूलो रकम पठाउन नसकेपनि जिल्ला प्रशासन कार्यालयहरुमार्फत राहत प्रक्रिया अगाडि बढाइएको जनाउनुभएको उहाँले मध्यपहाडी क्षेत्रमा बाँदर र बँदेलजस्ता जंगली जनावरबाट बालीमा हुने क्षति कम गराउन लागिने जनाउनुभयो ।

सो बैठकबाट ‘कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न विधेयक’ र कर्णाली प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्ने बनेको विधेयक’माथि दफावार छलफलका लागि समितिमा पठाइएको छ । दुवै विधेयक समितिमा पठाउन आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले सभामा प्रस्ताव गरेबमोजिम सर्वसम्मतले पारित भएको थियो । सभाको अर्को बैठक भदौ २४ गते दिउसो ३ः०० बस्ने सभामुख नन्दा गुरुङले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्