OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ४, २०८०काठमाडौं
१५४ पटक

४ भदौ २०८०, सोमबार

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली मुलुककै समृद्धिको मुहान बन्न सक्ने बताउनुभएको छ ।

कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा आज वीरेन्द्रनगर सुर्खेतमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले कर्णालीको जल, जमिन, पर्यटन, जडीबुटी, भेषभुषा, भाषा संस्कृतिमा रहेको अपार सम्भावना साँच्चै नै मुलुक समृद्धिको मुहान भएको बताउनुभएको हो । “कर्णाली एउटा सभ्यता हो । यो मानव सभ्यता र संस्कृतिसँग जोडिएको छ,” उहाँले भन्नुभयो, “कर्णाली प्रदेशले निर्धारण गरेको विकास, पूर्वाधार र परिवर्तनको लक्ष्य, कर्णालीको मूल्यवान उत्पादनले मुलुक सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने देखाउँछ ।”

प्रदेश सरकारको कृषक प्रोत्साहन कार्यक्रम, कर्णालीले जे बेच्छ, मूल्यवान उपज बेच्छ जस्ता नारा र कर्णाली समृद्धि अभियान जस्ता कार्यक्रमबाट आफु उत्साहित भएको उहाँले बताउनुभयो । प्रधानमन्त्रीले प्रदेश स्थापनाका लागि लड्दै आफ्नो जीवनको आहुति दिनुहुने अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पर्ण गर्दै उनीहरुले देखाएको सत्य र न्यायको मार्गमा हिड्न तथा देखेको सुन्दर, समृद्ध र समतामूलक समाज निर्माणको सपनालाई साकार पार्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासमेत गर्नुभयो ।

सम्बोधनको क्रममा उहाँले कर्णालीका कच्ची र कमजोर सडक पूर्वाधारले दुर्घटनाको जोखिम बढाएको, बेरोजगारी र अभावले हजारौँ युवा मुग्लान पसिरहेको, जाडोयाममा मयल पोसेको पातलो कपडा लगाई शिक्षा लिन दुई घण्टासम्म नानीबावु हिड्ने दृश्य राम्रोसँग बुझेको र महसुस गरेको बताउनुभयो । उपचार नपाउँदा गर्भवतीको अकालमा ज्यान जाने गरेको भयावह स्थिति, कर्णालीको गरिबी, पछ्यौटेपन र भूगोलबारे पनि राम्रोसँग बुझी यही क्षेत्रको आन्दोलनको नेतृत्वसमेत गरेको उहाँले जिकिर गर्नुभयो ।

कर्णाली प्रदेशको विशाल सिंजा सभ्यता, विविधतायुक्त भूगोल, सानो जनसंख्या, रारा, उपल्लो डोल्पा, कैलाश पर्वत दृश्यावलोकन गराउने लिमी, फोक्सुण्डो ताल, भेरी र कर्णालीको पवित्र संगम पञ्चपुरी उपत्यकाजस्ता आकर्षक पर्यटकीय गन्तव्य, भेरी र कर्णाली जस्ता सदावहार हिमाली नदीहरूको अपार सम्भावना र अवसरको अनुभूत गरेको बताउनुभएका उहाँले प्रदेश सरकारले नीति, योजना र कार्यक्रम बनाउँदा यहाँका ऐतिहासिक सम्भावना र जनताको जीवनमा परिवर्तन ल्याउन चाल्नुपर्ने कदमबारे गम्भीर रुपमा सोच्ने विश्वास रहेको जनाउनुभयो ।

नेपालमा एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका विभेद, असमानताका जराहरु अन्त्य गर्दै सामाजिक न्यायमा आधारित समाज स्थापना गर्न र नागरिकले आफ्नो हक अधिकारको पूर्ण उपयोग गर्नेगरी पहिचान र सामथ्र्यमा आधारित संघीय प्रणालीसहितको संघीय लोकतान्त्रिक समावेशी गणतन्त्रको स्थापना भएको उहाँको भनाई थियो । उहाँका अनुसार गणतन्त्र स्थापनाकै परिणामले स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न एवं गणतान्त्रिक देशका सम्मानित र सार्वभौम नागरिक हुन सकिएको हो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “विना भेदभाव सबै नेपालीलाई समान हक, समान अवसर र समान हैसियत प्रदान गर्ने संवैधानिक हक स्थापित गरिएको छ जुन विश्वका उत्कृष्ट संविधान भनिएका मुलुकहरूका संविधानभन्दा कुनै पनि अर्थमा कम छैन । तर संवैधानिक व्यवस्थानअनुरुप जनताको जीवनमा परिवर्तन ल्याउने हाम्रो आधारभूत कार्यभार अहिले पनि पूर्णरूपमा कार्यान्वयन भइसकेको छैन ।” आम नागरिकले सामाजिक न्याय र समानताको अनुभूति गर्न नसेक तथा उनीहरुको जीवनमा गुणात्मक सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य सिद्व हुन सक्दैन भन्ने तथ्यमा सबैले गहिरो गरी विचार गर्नुपर्नेमा उहाँको जोड थियो ।

संघीय गणतन्त्रात्मक संविधान निर्माण भएको आठ वर्ष पूरा भइसकेको तथापि संघीय शासन प्रणालीअनुरुप सयभन्दा बढी नयाँ कानून तर्जुमा र पुराना कानूनहरू संशोधन गर्न बाँकी रहेको प्रधानमन्त्रीले बताउनुभयो । संघीय शिक्षा ऐन, संघीय निजामती सेवा ऐन, संघीय प्रहरी ऐन र मौलिक हक कार्यान्वयनका लागि आवश्यक कानूनहरु बनेर कार्यान्वयनमा आएपछि मात्र जनताले संघीयताको मर्म अनुभूत गर्न सक्ने भन्दै उहाँले आफ्नो प्राथमिकता ती ऐनहरु छिट्टै तर्जुमा गर्नेतर्फ गएको जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्