OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ३, २०८०सुर्खेत
१३० पटक

३ भदौ २०८० आइतबार

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको दोस्रो विस्तारित बैठक भव्यताका साथ सम्पन्न भएको छ । वीरेन्द्रनगरमा शनिबारदेखि जारी बैठकमा पार्टी संगठन निर्माणका बारेमा उच्चकोटीको बहस भएको छ ।

उक्त बैठकले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को प्रदेशस्तरीय कार्यक्रम र त्यसको कार्य विभाजनका विषयमा निर्णय भएको नेकपा माओवादी केन्द्रका प्रदेश समिति अध्यक्ष बिमला केसीले जानकारी दिनुभयो । केन्द्रद्वारा निर्मित लक्ष्य र उद्देश्यको आलोकमा ठोस् कार्य योजना तयार भएको सोही अनुरुप सबै नेता, कार्यकर्ता, सङ्गठनलाई प्रशिक्षण गरिएको उहाँले बताउनुभयो ।

अध्यक्ष केसीले भन्नुभयो, “कार्यक्रममा हलमा सहभागी गाउँ तथा नगर कमिटिका पदाधिकारीलगायत एक सय आठ जनाले आफ्ना धारणा राखेका थिए भने मञ्चबाट करिब १८ जनाले पार्टीको अवस्था, आगामी कार्यदिशा र पार्टीलाई एक नम्बर बनाउन पुरा गर्नुपर्ने जिम्मेवारीका विषयमा मन्तव्य व्यक्त गरेका थिए ।” उनीहरुले पार्टीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा योजनाका साथै सुझाव दिएका थिए ।

कार्यक्रम अत्यन्तै उत्साहजनक ढंगबाट सम्पन्न भएको छ । बैठकले पार्टीलाई एक नम्बर बनाउने म्यान्डेडलाई अख्तियार गरेको छ । बैठकले माओवादीले सुरु गर्न थालेको तीन महिने अभियानको कार्य योजना तयार गरेको छ । जस अनुसार प्रदेशसभा सदस्यको कार्य विभाजन र भदौ १६ गते प्रदेशका सबै वडा–वडामा अभियानको उद्घाटन गरिनेछ ।

बैठकमा अधिकांश नेता, कार्यकर्ताले पार्टी निश्चित मान्छेको दलदलमा फसेको, पार्टी र सत्ताको तालमेल नभएको, ठूला नेता र पार्टीको वर्तमान साङ्गठनिक अवस्थाबारे प्रश्न उठाएका थिए ।
बैठकले पार्टीबाट तीनवटै सत्ता निर्देशित हुने, माओवादीको नेतृत्वमा रहेका स्थानीय तहमा एउटा नमुना काम गर्ने, तोकेको फिल्डमा नेता, कार्यकर्ता जानै पर्ने, भ्रष्टाचारप्रति मुख्यमन्त्री र सङ्घीय मन्त्री पनि निर्मम हुनुपर्ने र उत्पादनलाई श्रमसँग जोडेर पार्टी कार्यकर्ताको आर्थिक भविष्य सुनिश्चित गर्ने निष्कर्ष निकालेको छ ।

बैठकमा पार्टी उपमहासचिव एवं प्रदेश इन्चार्ज मातृका यादवले पार्टीले गरेको निर्णयमा सबै प्रतिबद्ध भएर लाग्न नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । केन्द्रका नेता तथा उर्जामन्त्री शक्ति बस्नेतले सरकारले थालेको सुशासनको विषय गम्भीरता भएको बताउनुभयो । ऊर्जाका क्षेत्रमा गर्न लागेका कार्य र माओवादीले अघि सारेको समाजवादको आधार र समाजवादी मोर्चाको आधार निर्माणका सन्दर्भमा कुरा राख्नुभयो । पूर्व मुख्यमन्त्री एवं नेता महेन्द्रबहादुर शाहीले पार्टीभित्र विभिन्न सिमा समस्याहरु रहेको र ती समस्याहरू तीन महिने अभियानले समाधान गर्ने जनाउनुभयो ।

कर्णाली सरकारका काम र माओवादीले नै नेतृत्व गरेको सरकारले जनताको पक्षमा रहेर काम गर्नुपर्ने आवाज उठेको थियो । यता मुख्यमन्त्री राजकुमार शर्माले रोजगारीका कुरालाई सरकारले अघि सारेको र कर्णाली निर्माणमा आफू दृढता साथ अगाडि बढेको जवाफ दिनुभयो । पार्टीलाई रुपान्तरणको नयाँ उचाईमा लैजाने प्रयत्न गरिने म्यान्डेडका साथ अगाडि बढ्ने प्रतिवद्धता गरेको बैठकले यसअघिका कमी कमजोरीबारे बृहत् समीक्षा भएको प्रदेश समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्