OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ७, २०८०जुम्ला
२२३ पटक

७ साउन २०८०, आइतबार

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले जुम्लाका कार्यालय प्रमुखहरुलाई बजेट कार्यान्वयनमा लाग्न निर्देशन दिनुभएको छ ।

पुल, भवन, शिक्षा तथा स्वास्थ्यका संरचनालगायतका विभिन्न योजनाहरुको अनुगमन तथा निरीक्षणका लागि जुम्ला पुग्नभएका योजनामन्त्री सिंहले शुक्रबार चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेट कार्यान्वयनमा प्रदेश सरकारले लिएको लक्ष्य अनुरुप अगाडि बढ्न यहाँका कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको हो । उहाँले जुम्लास्थित सबै कार्यालय प्रमुखहरुले राखेका गुनासो सम्बोधनमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

जिल्लामा रहेका प्रदेशका कार्यालयहरुले गर्नुपर्ने कामहरुको बारेमा जानकारी दिँदै मन्त्री सिंहले भन्नुभयो, “प्रदेश सरकारको बजेट पारित भईसकेको छ । अब तत्कालै बजेटको अख्तियारी आउँछ । तोकिएका योजनाहरुको काम समयमै सम्पन्न र कुनैपनि योजनाहरुको ठेक्का कार्तिक भित्रै गर्नका लागि कार्यालय प्रमुखहरु नियमित हुनुको साथै दत्तचित्त भएर लाग्नुपर्दछ ।”

उहाँले जनतालाई सेवा प्रवाह गर्ने कुरामा कुनैपनि कमजोरी नगर्न र विशेषगरी सुशासन कायममा जोड दिन कार्यालय प्रमुखसहितका कर्मचारीहरुलाई सुझाउनुभएको थियो । जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले मन्त्री दिएको निर्देशन तथा सुझावलाई ग्रहण गर्दै कार्यालय प्रमुखहरुको काममा सहजीकरण, उनीहरुको नियमितता, जिल्लाको शान्ति सुरक्षा र सुशासन कायम गर्नतर्फ आफ्नो भूमिकालाई सघन बनाउने बताउनुभयो ।

जिल्लाको अनुमगन तथा निरीक्षणका क्रममा मन्त्री सिंहले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा मुलुककै जेठो प्राविधिक विद्यालय कर्णाली प्राविधिक शिक्षालय, नेपाल पत्रकार महासंघ जुम्लाको भौतिक संरचनाको अवलोकन गर्नुका साथै जुम्ला पातारासी गाउँपालिका ५ ल्होर्पाको निर्माणाधिन र ३ नम्बर वडाको ठेक्काका लागि तयारी भएको पुलसमेत निरीक्षण गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्