OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ३०, २०७७काठमाडौं
४५३ पटक

कर्णाली प्रदेश ब्युरो

सुर्खेत, वैशाख ३० गते । कोरोना भाइरस सङ्क्रमणका कारण यस वर्ष यार्सागुम्बा सङ्कलन प्रभावित भएको छ । बन्दाबन्दीका कारण यार्सा सङ्कलन कार्यलाई बन्देज लगाइएको छ । यसबाट सरकारले करोडौँ रुपियाँ बराबरको राजस्व गुमाउनुपर्ने देखिएको छ ।

करोडौँको नोक्सानी
हुम्ला समाचारदाता राजन रावतका अनुसार हुम्लाका बासिन्दा यसपटक यार्सा टिप्न जान पाएनन् । बझाङ र डोल्पाका पाटनमा यार्सा टिप्न जाने गर्दथे । नाम्खा गाउँपालिका–१ का उत्तम लामाले बझाङ जाने तयारी गरे पनि स्थानीय सरकारले यार्सा सङ्कलन कार्य बन्द गरेको सूचना पाएपछि जान नपाएको गुनासो गर्नुभयो ।
हुम्लाका युवाले बर्सेनि सरदर पाँचदेखि २० केजीसम्म यार्सा सङ्कलन गर्ने गरेको यार्सा व्यापारी टेकबहादुर लामाले बताउनुभयो ।
उहाँका अनुसार हुम्लाका युवाले मात्र कम्तीमा तीन करोड रुपियाँ बराबरको नोक्सानी व्यहोर्नु परेको छ ।
यार्सागुम्बाको खानीका रूपमा मानिएको डोल्पामा कोरोना भाइरस सङ्क्रमणकै कारण सङ्कलन कार्यलाई सर्वपक्षीय बैठकले बन्द गर्ने निर्णय गरेको छ । डोल्पाकी यार्सा व्यापारी निरू चलाउनेका अनुसार डोल्पाका पाटनहरूमा यार्सा उम्रिसकेको छ ।
उहाँले डोल्पावासीको मुख्य आम्दानीको स्रोत नै यार्सा भएको बताउँदै यर्सा सङ्कलन गर्न नपाउने भएपछि जीविकोपार्जनमै असर पुग्ने बताउनुभयो । विगतमा यतिबेला विद्यालयसमेत बन्द गरेर अग्ला पाटनमा यार्सा टिप्नेहरूको भीड लाग्ने गथ्र्याे, उहाँले थप्नुभयो– हेलिकोप्टर चार्टर्ड गरेर व्यापारीहरू पाटनमै पुग्ने गर्थे तर अहिले पाटन सुनसान बनेका छन् ।
पाटन सुनसान
जुम्ला समाचारदाता नेत्र शाहीका अनुसार यार्सा टिप्न रोक लगाइएपछि कर्णालीका पाटन खाली देखिएका छन् । जुम्लाको चन्दननाथ नगरपालिका, पातारासी गाउँपालिका, गुठिचौर गाउँपालिका लगायत स्थानका बासिन्दाहरू घरमा ताल्चा लगाएर सपरिवार यार्सा टिप्न पाटन जान्थे । गुठिचौर गाउँपालिका–३ का लिबहादुर बुढाले कुनै पनि व्यक्तिले बर्सेनि कम्तीमा ५० हजारदेखि एक लाख रुपियाँसम्म कमाउने गरेकोमा यो वर्ष रोकिएको बताउनुभयो । जुम्लाको साना हाँका, ठूला हाँकाका साथै डोल्पाको कागमारा र घनसा पाटनमा जुम्ला, डोल्पा, जाजरकोट, दैलेख, कालीकोट, रुकुमका हजारौँ मानिस यार्सा टिप्न जान्थे ।
पातारासी गाउँपालिका–४ का मुनबहादुर बुढा बर्सेनि पाटन जाने गरेकोमा यो वर्ष रोक लगाइएकाले जान नपाएको गुनासो गर्नुभयो । मुगुको कार्मारोङ गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत तीर्थराज शाहीले यार्सागुम्बा सङ्कलन र निकासीमा पूर्ण रोक लगाइएको सूचना जारी गर्नुभएको छ । मुगुको सुरक्षा समितिले यार्सा टिप्न रोक लगाउने निर्णय गरिसकेको मुगुका प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी दिनुभयो ।

आम्दानी गुम्यो

जाजरकोट समाचारदाता सहदेव बस्नेतका अनुसार यार्सा सङ्कलन गर्न जान नपाउँदा यहाँका स्थानीयहरू निराश भएका छन् । जाजरकोटबाट हरेक वर्ष सरदर २० हजार व्यक्ति यार्सागुम्बा टिप्नका लागि डोल्पा लगायतका जिल्लामा जाने गरेका थिए ।
नलगाड नगरपालिका–१३ का तेजबहादुर विक आफूहरूका लागि यार्सा नै मुख्य आम्दानी रहेको तर बन्दाबन्दीले गर्दा जान नपाउँदा यस वर्ष आर्थिक समस्या भोग्नुपर्ने गुनासो गर्नुभयो ।
बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले यसबेला विद्यालय बन्द गरेर शिक्षक तथा विद्यार्थीसमेत यार्सा सङ्कलन गर्न जाने गरेकोमा रोक लगाइँदा ठूलो आार्थिक घाटा व्यहोर्नुपरेको बताउनुभयो । यार्सा टिप्न जाने व्यक्तिले तीन लाख रुपियाँसम्म कमाइ गरेर ल्याउने गरेका थिए । नलडाड नगरपालिकाका प्रमुख टेकबहादुर रावल तीन महिनामा यार्सा टिपेर ल्याएको कमाइबाट वर्षभरिको समस्या टार्ने गरेका यहाँका स्थानीयहरू यस वर्ष ज्यादै मारमा परेको बताउनुभयो । डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख महेश कुमाईले बन्दाबन्दीका कारण सबै हिमाली जिल्लामा वन प्रवेशमा रोक लगाइएकाले जाजरकोटबाट कोही पनि व्यक्ति यार्सा टिप्न जिल्लाबाहिर नगएको बताउनुभयो ।

कोही गएनन्
सल्यान समाचारदाता प्रतीक इच्छुक शर्माका अनुसार सल्यानको दार्मा गाउँपालिका, कुमाख गाउँपालिका, वनगाडकुपिण्डे नगरपालिका र वागचौर नगरपालिकाका स्थानीयहरू यार्सा सङ्कलनका लागि डोल्पा र रुकुम पूर्वका लेकमा जाने गरे पनि यस वर्ष कोही गएका छैनन् ।
कुमाख गाउँपालिकाबाट गत वर्ष १५० जना यार्सा सङ्कलनका लागि रुकुम पूर्व र डोल्पा पुगेका थिए । गाउँपालिका अध्यक्ष दिलमाया बुढामगरले बर्सेनि यार्सा सङ्कलनका लागि डोल्पा र रुकुम जाने गरेकोमा यसपटक कोही पनि जान नपाएको बताउनुभयो । दार्मा गाउँपालिका–१ का अध्यक्ष कविकुमार चन्दले गत वर्ष धेरै व्यक्ति यार्सा सङ्कलनका लागि जाने गरेकाले यस वर्ष रोक लगाइएकाले कोही नगएको जानकारी दिनुभयो ।

गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस्