OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाहीआषाढ २९, २०८०सुर्खेत
१२७ पटक

२९ असार २०८०, शुक्रबार

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण भएको छ ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश अस्पताल सुर्खेतको संयुक्त प्रयासमा बिहीबार साँझ रोल्पा जिल्लाको रोल्पा नगरपालिका २ निवासी ३५ वर्षीय पवनकुमार आचार्यको दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण भएको हो । उनलाई ५६ वर्षीय आमा देवाकुमारी आचार्यले छोरालाई मिर्गौला दान गर्नुभएको थियो ।

प्रत्यारोपण शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राडा. पुकारचन्द्र श्रेष्ठ र प्रदेश अस्पतालका निर्देशक प्राडा.डम्बर खड्काको टोलीले असार २८ गते प्रत्यारोपण कार्य सम्पन्न गरेको थियो । केन्द्र र अस्पतालबीच मिर्गौला प्रत्यारोपणका लागि २०७८ चैत १० गते सम्झौता भई प्रत्यारोपण सेवा सुरु गर्ने समझदारी भएको निर्देशक खड्काले बताउनुभयो ।

प्रदेश अस्पतालमा नियमित प्रत्यारोपण सेवा सञ्चालन गर्ने योजना अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गरी आत्मनिर्भर बनाउनको लागि केहीलाई केन्द्रमा थप तालिमका लागि पठाएको र केहीलाई पठाउने योजना बनाएको अस्पतालका निर्देशक खड्काले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेलले अब कर्णालीका जनताले मिर्गौला फेल भएर ज्यान गुमाउनुपर्ने समस्या कम हुने बताउनुभयो । उहाँले प्रदेश अस्पतालले नमूना काम गरेको जनाउँदै प्रदेश सरकारले पनि अस्पतालको विकासको निम्ति काम गर्दै आएको जनाउनुभयो ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सचिव देवकुमारी गुरागाईँले पश्चिम नेपालको सरकारी अस्पताल सुर्खेतका लागि प्राथमिकतामा राखेर काम गरिएको र आगामी दिनमा पनि आवश्यक हुने बताउनुभयो । यसभन्दा पहिले २१ माघ २०७९ मा सम्पन्न भएको थियो । त्यति बेला पनि नवलपरासी बर्दघाट नगरपालिका ४ निवासी ४१ वर्षीय आमाले २२ वर्षीय छोरालाई मिर्गौला दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस्