OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २३, २०८०सुर्खेत
१०० पटक

२३ असार २०८०, शनिबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले ‘गुणस्तरीय शिक्षा, कर्णालीको आवश्यकता’ भएको बताउनुभएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेशमा सार्वजनिक शिक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले शिक्षामा गुणस्तरीयता कायम हुन नसक्दा प्रतिस्पर्धाको बजारमा कर्णालीले बढी जोखिम उठाउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

उहाँका अनुसार मुलुकको चौतर्फी विकासका लागि गुणस्तरीय शिक्षा र त्यसभित्र गरिखाने शिक्षा आवश्यक छ । उहाँले भन्नुभयो, “विज्ञान र प्रविधिसँग जोडेर शैक्षिक क्षेत्रको बृहत्तर विकासका लागि आगामी वर्षमा प्रदेशका दश ओटै जिल्लामा एक÷एक वटा नमूना विद्यालय निर्माण गर्ने योजना बनाईएको छ ।”

मानव संसाधनको विकासविना भौतिक विकास हुन नसक्ने मुख्यमन्त्री शर्माको जिकिर थियो । पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको माटो सुहाउँदो शिक्षाको आधार तयार गरी लगानी गर्नुपर्नेमा जोड दिनुभयो । कर्णाली प्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका नेता यामलाल कँडेलले शैक्षिक गुणस्तर कायम गर्न बोली भन्दा पनि व्यवहारिक कार्यान्वयन मुख्य रहेको बताउनुभयो ।

सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेलले शिक्षा क्षेत्रमा हुने लगानीको प्रतिफल प्राप्त गर्न समय लाग्ने भन्दै यसको विकासमा सबैको साथ आवश्यक रहेको बताउनुभयो । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा.नन्दबहादुर सिंहले उच्च शिक्षाको गुणस्तर सुधारको प्रमुख आधार विद्यालय शिक्षा भएको प्रतिक्रिया दिनुभयो ।

त्यसैगरी, प्राडा.विद्यानाथ कोइरालाले शैक्षिक गुणस्तर माथि उकास्न सरकारसहित सबै सरोकारवालाहरुको समन्वय र सहकार्य आवश्यक रहेको जनाउनुभयो । अन्तरिक्रयामा सामाजिक विकास मन्त्रालयका सचिव डा.भोजराज शर्मा काफ्ले, बहुमुखी क्याम्पस सुर्खेतका प्रमुख माधवप्रसाद खनालले कर्णाली शैक्षिक अवस्था, उच्च शिक्षाको सम्भावना, देखिएका चुनौतिलगायतका बारेका कार्यपत्र प्रस्तुत गर्नुभयो ।

प्रतिकृया दिनुहोस्