OnlinePana

आज : २०८१ पौष १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ४, २०८० सुर्खेत
२६० पटक

४ असार २०८०, सोमबार

कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷०८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटमाथि छलफल सुरु भएको छ ।

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको बाह्रौं बैठकमा सभामुख नन्दा गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहलाई सामान्य छलफलका लागि सभामा प्रस्ताव गर्न समय दिएसँगै पारित भएको थियो । बजेटमाथिको छलफलको सुरुमा नेकपा एमाले प्रदेशसभा दलको नेता यामलाल कँडेलले भाग लिँदै उहाँले आगामी वर्षको बजेट पनि परम्परागत भएको टिप्पणी गर्नुभयो ।

बजेटको सिद्धान्त, प्राथमिकता, उद्देश्य, मूल्य मान्यता, र सीमा हुँदा पनि सरकार त्यस अनुसार जान नसकेको उहाँको आरोप थियो । “बजेट पैतृक सम्पति वितरण होइन, प्रदेशको विकास र समृद्धिको योजना हो,” उहाँले भन्नुभयो, सबैको अपनत्वको हुने गरी परिस्कृत भएर बजेट आउनुपर्दछ ।”

प्रदेशसभा सदस्य विन्दमान विष्टले बजेट अँझै यथार्थपरक भएर आउनुपर्नेमा जोड दिनुभयो । उहाँले कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुदको पूर्ण तयारीका लागि प्रदेश सरकार गम्भीर भएर जान आग्रह गर्नुभयो । प्रदेशसभा सदस्य जानकी सिंहले बजेट ठोसरुपमा आउन नसकेको तर्क गर्नुभयो ।

त्यस्तै प्रदेशसभा सदस्य तुलसा मल्लले बजेट समानताका आधारमा नआएको प्रतिक्रिया दिनुभयो भने पूर्णबहादुर खत्रीले जनताको समस्या समाधान हुने र उनीहरुले कालापहाड एवं खाडी मुलुकमा जान निरुत्साहित गर्ने खालको बजेट आउनुपर्नेमा जोड दिनुभयो । सदस्य सुरेश अधिकारीले बजेटको असमान विनियोजन भएको गुनासो पोख्दै यसको समुचित र न्यायिक वितरण गर्न सरकारको ध्यानार्षण गर्नुभयो ।

त्यसैगरी सदस्यहरु इन्द्राकुमारी शाही, सन्तोषी शाहीले बजेट विनियोजन भेदभावपूर्ण, र असन्तुलित भएको टिप्पणी गर्नुभयो । उहाँहरुले सरकारले शिक्षा, मानव अधिकार र सामाजिक रुपान्तरणका क्षेत्रमा बजेट विनियोजन गर्न माग गर्नुभयो । सभाको अर्को बैठक भोलि दिउसो ३ः०० बजेसम्मका लागि स्थगित भएका सभामुख गुरुङले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्