OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २४, २०८०जुम्ला
२७२ पटक

२४ बैशाख २०८०, आइतबार

कर्णाली प्रदेश सरकारले मुगुम कार्मारोङ गाउपालिका २ मुगुको च्यार्खु लेकमा हिउँ पहिरामा परेकाहरुको खोज उद्धार भोलिदेखि गर्ने भएको छ ।

आज ढिला भएकोले प्रदेश सरकारले भोलि बिहान हेलिकोप्टरबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको खोज उद्धार टोली घटनास्थलमा पुर्याउने तयारी गरेको छ । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले घटनाको बारेमा तत्काल जानकारी हुन नसकेकोले खोज उद्धार कार्यमा ढिलाई भएको बताउनुभयो ।

“हामीले मुगु प्रशासनबाट त्यहाँको यथार्थ विवरण मागी आजै सुरक्षा समितिको बैठक बसेर हेलिकोप्टर तयारी अवस्थामा राखेका छौं,” उहाँले भन्नुभयो, “भोलि सुर्खेतदेखि नेपालको सेनाको हेलिकोप्टरमार्फत औजारसहितको उद्धार टोली सुर्खेतबाट मुगु गमगढी र त्यसपछि घटनास्थलतर्फ जानेछ ।” तयारी हेलिकोप्टर आज बेलुकी पठाउँदा राति हुने र उद्धार कार्यमा असहज बन्ने भएकोले सुर्खेतमै अवतरण गरिएको मन्त्री जिसीले जनाउनुभयो ।

जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले घटना बैशाख २२ गते दिउसो २ः०० बजे भएपनि मृतकसँग गएका प्रत्यक्षदर्शीहरुले शनिबार साँझ मात्र जानकारी दिएकोले उद्धार कार्यका लागि सूचना दिन ढिलाई भएको बताउनुभयो । प्रत्यक्षदर्शीहरुको भनाईलाई उद्रित गर्दै प्रमुख जिल्ला अधिकारी थापाले उक्त घटनामा पातारासी गाउँपालिका २ जुम्ला तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्की हिउँमा पुरिएर मृत्यु भएको र ४० वर्षीय तारासिंह सार्की र ३६ वर्षीय बीरबहादुर बोहोरा बेपत्ता भएको जनाउनुभयो ।

उहाँका अनुसार जेठ ४ गते यार्सागुम्बा (जीवनबुटी) सङ्कलनका लागि त्यहाँको पालिकाले खुला गर्ने भनिएपनि पातारासीबाट १४ र मुगु छायाँनाथ रारा नगरपालिकाबाट एक गरी १५ जनाको टोली अवैध बाटो भएर त्यहाँ पुगेको थियो । लास हिउँमै रहेको बताइएको छ । घटना भएको ठाउँ मुगु कार्मारोङ् गाउपालिकाको प्रहरी चौकीबाट दुई दिनको पैदल यात्रा हिड्नुपर्ने जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।

प्रतिकृया दिनुहोस्